हो, नेपालमा बिना नामको ७ वटा प्रदेशहरू रहेका थिए। प्रदेशहरू त अहिले पनि घटिबढी भएको छैन, ७ वटा नै रहेका छन् । यसरी सुरुमा बिना नामको ७ वटा प्रदेशहरू रहेकोमा हालसालै २ नम्बर प्रदेशले मधेस नाम पाएको छ । सो प्रदेशसहित अब नाम पाउने प्रदेश ६ वटा भएको छ । नाम राख्न वा नाम रहन बाँकी प्रदेश रहेको छ '१ नम्बर प्रदेश ।'

पहिचान पक्षधर भनिनेहरूले प्रदेश १ को नाम सकेसम्म 'किरात-लिम्बुवान', 'किरात-खम्बुवान' वा 'किरात' नाम मात्रै राख्न चाहेका छन् । तर, यसमा पहिचान पक्षधर भनिनेहरू नै खुलेर लाग्न, बोल्न र लबिङ गर्न सकिरहेका छैनन् । यस्तो कमजोर मानसिकताका मानिसहरू नेपाली काँग्रेस, नेकपा एमाले नेकपा एस, नेकपा माओवादी आदि राजनैतिक दलहरूमा बढी देखिन्छन् । किनभने, उनीहरूले आफ्नो ऐतिहासिक थातलथो, इतिहास, सभ्यता, भूगोल, धर्म, जातजाति, भाषाभाषी, वंश, रहनसहन, परम्परा, मूल्य-मान्यता आदिप्रति दह्रोसँग अडान लिँदा भोलिका दिनमा आफ्नो पार्टीको ‘बफादार झोलेपोके !’ हुन नपाइने हो कि ? आफ्नो दलका सुप्रिमोहरुले ‘हटक/कटक !’ गर्ने वा भनौँ हटाउने र, कहिल्यै माथि उठ्न नदिने पो हो कि ? भन्ने मनोवैज्ञानिक त्रासका कारण खुलेर आफ्नो समुदायको हक अधिकार, ऐतिहासिक थातलथो, इतिहास, सभ्यता, भूगोल, धर्म, भाषा, वंश, रहनसहन, परम्परा, मूल्य-मान्यता आदिप्रति दह्रोसँग अडान लिँदैनन्।

नेपालमा पनि विसं २०६२/०६३ को दोस्रो जनआन्दोलनले ल्याएको राप र तापपछि आएको राजनैतिक परिवर्तनपछि नेपालमा राज्य पुनः संरचनामा जाँदा ‘जातीय स्वपहिचान, भाषा, ऐतिहासिक भूमि, भूगोल आदिका आधारमा प्रदेशहरूको नाम रहनु पर्छ !’ भन्दा जस (जुन वर्गले) ले ‘यस्तो जातीय सद्भाव भड्काउने कुरो पनि गर्ने ?, साम्प्रदायिक कुरो पनि गर्ने ?, अहिलेसम्म मिलेर बसेको नेपाली समाजलाई भाँड्ने ?’ भनी ठाडै हप्काउने, दप्काउने वा भनौँ सम्झाउने, बुझाउने गरियो । तर, उनीहरूले नै धेरैअघि ‘आ-आफ्नो थर, उपथर र गोत्रको आधारमा ‘सङ्गठन’, ‘समाज’ अथवा 'गुठी' गठन गरी सकेको भने कसैलाई भनेनन् । न त हाम्रा आदिवासी जनजाति मूलका भन्ने/भनिन चाहने ‘ग्वाँजे !’ नेताहरूले नै त्यसको हेक्का राखे । त्यस्तो भएपछि सम्बन्धित जात समूह बाहेकका धेरै कम ‘आदिवासी जनजाति !’ भनिनेहरूले पसन धेरै पछि मात्रै थाहा पाए वा बुझेका होलान्, जातले पनि बाहुन र व्यवहारले पनि...हरुको चाला !? त्यसैलेले उनीहरू आदिवासी जनजाति मूलका मान्छेलाई नै अघि सारेर केही प्रदेशको नाम भूगोल र खोलानालाको नाममा राखीसके भने, बाँकी केही प्रदेश १ को नाम पनि भूगोल र खोलानालाकै नाममा राख्ने वाला छन् ।

राज्य पक्षका मान्छेहरू सकेसम्म १ नम्बर प्रदेशलाई 'किरात-लिम्बुवान', 'किरात-खम्बुवान' वा 'किरात' नाम मात्रै राख्न नदिने पक्षमा छन् । त्यसका लागि उनीहरूले ‘जनता प्रदेशको नाम होइन विकास चाहन्छन् !’ भन्ने खालको एक खाले भनाइ वा नारालाई अघि सार्दैछन् । उनीहरूले त्यसका लागि बढी से बढी 'सगरमाथा-कोशी', 'सगरमाथा-मकालु', 'सप्तकोसी' नाम दिने पक्षमा तयार होलान् । नभए त उनीहरूका लागि १ नम्बर प्रदेशको नामहरूमा ‘मेची’, ‘कोसी’, ‘अरुण’, ‘पूर्वाञ्चल’, ‘पाथीभरा ‘कन्काई’, ‘हनुमान नगर !’ आदि पो उपयुक्त होला । सम्भवतः राज्य पक्षका कुनै न कुनै माननीयले यस्तो नामहरू प्रस्ताव गर्न बेर पनि छैन, १ नम्बर प्रदेशको आगामी हिउँदे अधिवेशनमा । किनभने, उनीहरूका लागि ‘मेची’, ‘कोसी’, ‘अरुण’, ‘पूर्वाञ्चल’, ‘पाथीभरा ‘कन्काई’, ‘हनुमान नगर !’ आदि नाममा भएमा जातीय नाम हुने छैन । यसले सबै जातजाति र भाषाभाषीको प्रतिनिधित्व पनि गर्ने छ, उनीहरूका नजरबाट हेर्दा । किनभने, यो वा ऊ नाममा विगत लामो समयदेखि एकल ढङ्गले राज्य चलाउँदै आएकाहरूका लागि माथिका पछिल्लो नामहरूमा किरात वा किराँती जातीय नाम छैन !? त्यसका लागि (पछिल्लो नामहरू प्रस्ताव गर्नका लागि) हाम्रै भनिएका आदिवासी जनजाति मूलका बौद्धिक वा बुद्धिजीवी भनिनेहरू र मझौला खालका आदिवासी जनजाति मूलकै नेता पनि प्रयोग हुने सम्भावना देखिन्छ छ।

जे होस्, यो लेखमा अरू भन्दा पनि असलीयतामा १६ खम्बुका सन्तान तर, हालसम्म उनीहरू आफ्नो असली जातीय स्वपहिचान र तथ्य-तथ्यांकविहीन रहेका अर्थात् ‘राई !’ जातिमा गाँजेमाजे ढङ्गले जानाजान वा अञ्जानमा गाभिएका अनि आगामी दिनमा ‘भीड र ठुलो सङ्ख्या !’ देखाउने नाममा जातीय स्वपहिचान विहीन ‘राई !’ हुने/बन्ने कि, जातीय स्वपहिचान र अस्तित्वसहित ‘राउटे’ (हुन त राउटे भन्दा पनि कम जनसङ्ख्या भएको दुई वटा जातिहरू रहेका छन्, नेपालमा । तर, ती दुई जातिको चर्चा राउटे जातिको जत्ति नभएकोले गर्दा होला, हाम्रा राई सर राई नि म्याडमले ‘फुटेर राउटे हुने, राउटे हुने !’ भनी उदाहरण दिन्छन् । बाँकी कम सङ्ख्या भएको दुई जातिको नाम लिएर भने उदाहरण दिँदैनन्, उच्चारण गर्दैनन् ।)

त्यसो त ‘किरात सभ्यता’लाई विश्वकै सबैभन्दा पुरानो सभ्यता र व्यापक रूपमा फैलिएको सभ्यताहरूमध्ये एक मान्ने गरिन्छ । किरात/किरातीहरु ब्रह्म पुत्र तथा गङ्गा (गोङवा) नदी र यसका शाखा नदी आसपास विकास भएको मानिन्छ । सुरुमा एसिया महादेशको दक्षिण एसिया, दक्षिण पूर्व एसिया, मध्य एसियामा किरातहरू रहेका थिए । कश्मीर देखी पूर्व, कामरूप, भुटान हुँदै मानसरोवरको दक्षिण–पश्चिमसम्म, ब्रह्म पुत्र नदीको किनारदेखि सरयु नदीको किनारसम्म, मानसरोवरदेखि चीनसम्म, नवदेशदेखि महाचीनसम्म किरातहरू विस्तारित थिए भन्ने इतिहासकारहरूको भनाइ रहेको छ । किरातीहरुको ऐतिहासिकता तथा चर्चा-परिचर्चा संस्कृत साहित्यहरू जस्तै अथर्व वेद, वाल्मीकि रामायण र महाभारतहरूमा (किराँती राजाहरू र जनताहरूको) उल्लेख गरेको पाइन्छ । प्राचीन संस्कृत साहित्य (ऋग्वेद, पुराण, स्मृति, काव्य, कथा, कविता, तथा विभिन्न खोज, अनुसन्धान र विभिन्न अभिलेखहरू) मा पनि किरात जातिको उल्लेख रहेको पाइन्छ । त्यस्तै बौद्ध साहित्य, जैन साहित्य, इसाई धर्म, इस्लाम धर्म आदि विभिन्न धर्म ग्रन्थहरू र प्राचीन वास्तुकला, शिल्पकला, लोक साहित्य, मिथक, लोककला, चित्रकलाहरूमा पनि किरात र किरातीहरुका बारेमा प्रशस्तै चर्चा–परिचर्चा गरिएको पाइन्छ । त्यसैले १ नम्बर प्रदेशका किराँती मूलका मात्रै नभएर अन्य आदिवासी जनजाति मूलका साथै बाहुन, क्षेत्री, सन्न्यासी, दलित, मधेसी आदिका माननीय ज्युहरूले ‘किरात’लाई केवल एक जाति नाम मात्रै नसम्झेर ‘प्राचीन इतिहास, भूगोल, सभ्यता, धर्म, महाजाति’ आदि सम्झेर दुई तिहाइ मात्रै होइन प्रदेश नम्बर १ को सिङ्गो संसद्ले एक मतले पारित गर्नु होस् । तपाईँहरूले यसो गर्नु भएमा ‘प्राचीन इतिहास, भूगोल, सभ्यता, धर्म, महाजाति’ सबै सबैले तपाईँहरूलाई हार्दिक नमन गर्ने छ। हार्दिक धन्यवाद भन्ने छ ।

किरात वा किरातीहरुको वंशावलीको सन्दर्भमा भन्नु पर्दा गोपाल राज वंशावलीअनुसार ३२ पुस्ता, डेनियल राइटको वंशावलीअनुसार २९ पुस्ता, भारतका प्रसिद्ध अनुसन्धानकर्ता तथा लेखक जीपी सिंहका अनुसार २९ पुस्ता, कर्कपेट्रिकको वंशावली अनुसार २७ पुस्ता, सिल्भँ लेभीका अनुसार २८ पुस्ता, इतिहास प्रकाशन अनुसार २५ पुस्ता, डा. स्वामी प्रपन्नाचार्यका अनुसार २८ पुस्ता र ‘सुब्बा’ प्रेमबहादुर माबोहाङका अनुसार २८ पुस्ता, धरणीधर दाहालका अनुसार ३५ पुस्ता एवम् भूपेन्द्रनाथ शर्मा ढुङ्गेलका अनुसार ३३ पुस्ता किराँती राजाहरूले काठमाडौँ उपत्यकामा राज्य चलाएका थिए । भनिन्छ, यसबाहेक पनि एसियाको विभिन्न क्षेत्रहरूमा किरातीहरुले शासन चलाई आएका थिए । यसरी कुनै वेला एसियाको ठुलो भू-भागमा फैलिएको किरातीहरु पछि गएर बाह्य क्षेत्रबाट आएका मानिसहरूको हस्तक्षेप एवम् उपनिवेशीकरणका कारण किरातीहरु विस्थापित हुँदै र आफ्नो जिमी-भूमिको साथै आफ्नो जातीय स्वपहिचानसमेत गुमाउँदै सीमित भू-क्षेत्रमा मात्रै बाँकी रहेका छन् । निश्चय नै किरातभित्र ठुलो बगाल वा भनौँ समूह रहँदै आएको भए तापनि अहिले आएर दक्षिण एसियाको पनि सगरमाथा क्षेत्र (हालको नेपालको पूर्वी भाग १ नम्बर प्रदेशका केही जिल्लामा मात्रै आफूलाई किरात भन्नेहरूको बसोबास रहेको छ । यसरी सानो भूभागमा मात्रै आफूलाई प्रस्ट रूपमा किराँती भनी चिनाउने जातिहरू बाँकी रहेका छन् । तर, उनीहरू पनि नेपालको भौगोलिक एकीकरण भएसँगै आफ्ना पिता-पूर्खाहरुले स्थानयीस्तरमा शासन गर्न नियुक्त हुँदा पाएको ‘राई’, ‘सुब्बा’, ‘मुखिया’ र ‘देवान’ पदवी वा पगरीलाई नै जाति मान्न थाले । सोही कारण आफू असलीयतामा १६ खम्बुका सन्तान भएको वास्तविकता बिर्सिँदै उनीहरूले जानाजानी वा अरूको दबाब अथवा प्रभावमा परेर आफ्नो नाम वा समुदायलाई चिनाउँदा “-‘राई’, ‘सुब्बा’, ‘मुखिया’ र ‘देवान’ ।” भनी लेखाउन/भनाउन वा लेख्न/भन्न थाले । त्यसो हुँदा ‘राई’, ‘सुब्बा’, ‘मुखिया’ र ‘देवान’ आदि विभिन्न ‘करण’सँगै उनीहरूको असली किराँती पहिचान नै ओझेलमा पर्न लागेको अवस्था छ । यसरी ‘करण !’ मा परेर आफ्नो जातीय स्वपहिचान र अस्तित्व संंकटमा परेका वा पर्न आँटेका किरातीहरुमा सबैभन्दा बढी १६ खम्बुका सन्तानहरू देखिन्छन् ।

यसरी ‘करण’मा परेका कुलुङ लगायत खम्बुका सन्तानहरूलाई उदाहरणको रूपमा लिन सकिन्छ । वास्तवमा १६ खम्बुका सन्तानहरू बढी नै ‘राईकरण’को मारमा परेको देखिन्छ । तर, सुखद कुरो के भने, ‘सुब्बा’, ‘मुखिया’ र ‘देवान’करणमा परेका लिम्बु, लाप्चा, सुनुवार र याक्खा आदिले भने आजभोलि आफ्नो नामको पछाडि जात वा जाति (खासमा विश्वका कुनै पनि आदिवासी जनजातिहरू ‘जात’ नभएर ‘जाति’ हुनुपर्ने हो) लेख्दा ‘सुब्बा’, ‘मुखिया’ र ‘देवान’ हो भनी लेख्न छाडेका छन् । जे भए तापनि आफूलाई किरात भनी स्विकार्ने किरातजन्य सङ्घ-संस्थाका अगुवाहरूले यो बेला अरू बेलाभन्दा बढी नै जिज्ञासा र चासो लिएर अगाडि बढ्नुपर्ने देखिन्छ ।

ninam-kulung-mangale

ninamkirat123@gmail.com