धरान : सुनसरीमा अहिले सम्म ३० हजार ९ सय ८५ जनामा कोरोना सङ्क्रमण भएको छ ।

पहिलो, दोस्रो र तेस्रो लहरको मंगलबार सम्मको तथ्याङ्क अनुसार सुनसरी जिल्लाको १२ पालिका मध्ये सबै भन्दा धेरै धरान उपमहानगरपालिकामा कोरोना सङ्क्रमित रहेका छन् ।

अहिले सम्म धरानमा ११ हजार ८ सय ९९ जनामा कोरोना सङ्क्रमण भएको छ । जसमध्ये धरानमा मात्रै अहिले सम्म २२५ जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय सुनसरीका अनुसार दोस्रो धेरै सङ्क्रमित हुने पालिकामा इटहरी उपमहानगरपालिका रहेको छ । इटहरी उपमहानगरपालिकामा अहिले सम्म ११ हजार ६ सय ९८ जनामा कोरोना सङ्क्रमण भएको छ । इटहरीमा १६० जनाको मृत्यु भएको छ ।

यसै गरी इनरुवा नगरपालिकामा १९१८ जनामा सङ्क्रमित मध्ये ४२ जनाको मृत्यु, वराहक्षेत्रमा १३१३ जनामा सङ्क्रमण ४३ जनाको मृत्यु, रामधुनीमा १०१७ जनामा सङ्क्रमण, २४ जनाको मृत्यु भएको छ ।

यसै गरी दुहबीमा ९८० जनामा सङ्क्रमण, २३ जनाको मृत्यु, बर्जूमा ४३२ जनामा सङ्क्रमण, ५ जनाको मृत्यु, देवानगञ्जमा ३५१ जनामा सङ्क्रमण, ४ जनाको मृत्यु, गढीमा ३०० जनामा सङ्क्रमण, १० जनाको मृत्यु, भोक्राहामा २२३ जनामा सङ्क्रमण, ७ जनाको मृत्यु, हरीनगरमा २०३ जनामा सङ्क्रमण, ४ जनाको मृत्यु र कोशी गाउँपालिकामा २३१ जनामा सङ्क्रमण, ७ जनाको मृत्यु भएको छ ।

अहिले सम्म सुनसरी जिल्लामा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ५५४ पुगेको छ भने २८ हजार ६ सय ८३ जना निको भएका छन् । अहिले सुनसरीमा सक्रिय सङ्क्रमितको सङ्ख्या २२९५ रहेको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ ।

भारतीय सीमा नाका भाण्टाबारीमा स्वास्थ्य डेस्क :
पछिल्लो समय कोरोना संक्रमणदर उच्च हुँदै गएपछि स्वास्थ्य कार्यालय सुनसरीले सुनसरीको सीमा नाका भाण्टाबारी तीनकुनेमा स्वास्थ्यकर्मी सहितको स्वास्थ्य डेस्क सञ्चालनमा ल्याएको स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईँले जानकारी दिए ।

उनका अनुसार भारतबाट आउनेहरूलाई लक्षित गरी नियमित स्वास्थ्य परीक्षणका साथै एन्टिजेन परीक्षण र खोप नलगाएकाहरूलाई खोप समेत लगाइने छ । अहिले सम्म स्वास्थ्य डेस्कबाट ५०९ जनाको स्वास्थ्य जाँच गरिएको छ भने ४ जनामा कोरोना सङ्क्रमण देखिएको छ भने १० जनालाई कोरोना विरुद्धको खोप लगाइएको छ ।

Data