इटहरी : पाँच दलीय गठबन्धनको घेरा तोड्दै नेकपा एमालेका सोनाम ग्याल्जेन शेर्पा प्रदेश १ राष्ट्रियसभा निर्वाचनमा निर्वाचित भएका छन् । अल्पसङ्ख्यक कोटामा शेर्पा निर्वाचित भएका हुन् ।

गठबन्धनका उम्मेदवार स्वतः विजयी हुने देखिएको राष्ट्रियसभा निर्वाचनमा एमालेले अस्वभावीक जित हासिल गरेको छ । राप्रपा र एमाले बिच एकता हुँदा पनि गठबन्धन बलियो देखिएका बेला शेर्पाले जित हासिल गरेका हुन् ।

यस्तै राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत प्रदेश १ को अन्य तर्फ सत्ता गठबन्धनका उम्मेदवार गोपाल बस्नेत निर्वाचित भएका छन् ।

नेकपा एमालेका उम्मेदवार गुरु बराललाई गोला प्रथामा हराउँदै काँग्रेसका बस्नेत निर्वाचित भएका हुन् । दुवै उम्मेदवारले बराबर मत प्राप्त गरेपछि राष्ट्रियसभा सदस्य निर्वाचन ऐन अनुसार गोला प्रथाबाट विजेता घोषणा गरिएको हो । बराल र बस्नेतले बराबर ४ हजार ४ सय ८८ मत प्राप्त गरेका थिए ।

त्यस्तै महिलातर्फ नेकपा एकीकृत समाजवादीकी जयन्ती राई विजयी भएकी छिन् । प्रदेशसभाको ५२ र स्थानीय तहको १२२ जनप्रतिनिधिको मत पाउँदा एमालेकी उम्मेदवार सुमित्रा भण्डारीले प्रदेशसभाका ३८ र स्थानीय तहका १४१ जनप्रतिनिधिको मत पाइन । राईले ४ हजार ६ सय ९२ पाउँदा भण्डारीको पक्षमा ४ हजार ३ सय ६२ मात्र पुगेको छ । तेस्रो स्थान पाएकी राप्रपाकी उम्मेदवार रन्जु प्याकुरेलले प्रदेशमा १ र स्थानीयमा ४ जनप्रतिनिधिको मत पाइन् ।