विराटनगर : नेकपा एमाले प्रदेश नम्बर १ संसदीय दलले प्रदेशसभाको बैठक बोलाउन माग गरेको छ ।

तीन महिनादेखि प्रदेशसभा बैठक नबोलाएको भन्दै एमालेले संसद् बैठक बोलाउन माग गरेको हो । एमाले संसदीय दलको आज बसेको बैठकले संसद् बोलाउने सहित विभिन्न सात बुँदे माग राख्दै प्रदेश सरकारको ध्यानाकर्षण समेत गराएको एमाले प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले बताए ।

बैठकले एमालेको नेतृत्वको सरकारले गरेका निर्णयलाई अहिलेको सरकारले जथाभाबी खारेज गर्ने र एमाले संसद्का क्षेत्रमा विनियोजित बजेट कटौती गर्ने कार्य रोक्न पनि माग गरेको छ ।

आफ्नो पार्टी नेतृत्वको सरकारका पालामा भए गरेका काम र निर्णय फेरबदल भएका विषय छानबिन गर्न हिक्मत कार्की संयोजक रहेको ५ सदस्यीय समिति बनाइएको छ । समिति सदस्यहरूमा जीवन घिमिरे, तुलसीप्रसाद न्यौपाने, जगदीशप्रसाद कुसियत र बुद्धिकुमार राजभण्डारी रहेका छन् ।