धरान : भोजपुर र मोरङबाट लागुऔषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

भोजपुर नगरपालिका-१० बाट लागुऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरी टोलीले केराबारी गाउँपालिका-१० का २९ वर्षीय सुमन तामाङ र धर्मदेवी नगरपालिका-५ का ३७ वर्षीय दल बहादुर तामाङलाई २ ग्राम ब्राउनसुगर सहित पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै जनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यसै गरी मोरङका दुई छुट्टा छुट्टै स्थानबाट नियन्त्रित लागुऔषध ट्याब्लेट ओसार पसारमा संलग्न २ जना भारतीय नागरिक सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा धनकुटा नगरपालिका-७ का २६ वर्षीय निशान श्रेष्ठ र धनकुटा नगरपालिका-४ का २० वर्षीय रोशन श्रेष्ठ तथा भारतको अररिया -३ का ३२ वर्षीय मुजफर मिया र ७५ वर्षीय जहरुदिन मिया रहेका छन् ।

बुधवार राती ७ बजेको समयमा विराटनगर-१६ बाट श्रेष्ठ द्वय फेरागन २० एम्पुल, लुपिजेसिक १८ एम्पुल , एभिल २० एम्पुल र डाईजापाम १८ एम्पुल सहित पक्राउ परेका हुन् भने मोरङकै सुनवर्सी नगरपालिका-८ बाट आज बिहान राती साँढे १ बजे २ जना भारतीय नागरिक ३०० ट्याब्लेट लागुऔषध नाईट्रोसन सहित पक्राउ परेका छन् ।

लागुऔषध सहित पक्राउ परेका उनीहरूको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।