झापा : झापाको दमकस्थित एक चर्च अगाडी राखिएको शङ्कास्पद बस्तु सेनाले डिस्पोज गरेको छ ।

दमक-५ हरिओम कोलोनीस्थित सियोन चर्चको दक्षिणतर्फको प्रवेशद्वारमा उक्त शङ्कास्पद बस्तु फेला परेको थियो । कालो झोला भित्र बम जस्तै देखिने सामाग्री फेला परेपछि इलाका प्रहरी कार्यालय दमकले श्री २१ नं बाहिनीको बम डिस्पोजल टोलीलाई खबर गरेको थियो । सो शङ्कास्पद बस्तुलाई प्रक्रियागत रूपमा खुल्ला स्थानमा लगेर निष्क्रिय पारिएको थियो ।

श्री २१ नं बाहिनीका सह सेनानीले दिएको जानकारी अनुसार सो झोला भित्र तारले बेरेर राखेको प्रेसर कुकर थियो । कुकुरभित्र घरमै बनाइएको बारुद जस्तो देखिने धुलो (इआडि) थियो ।

त्यहाँ उपलब्ध भएको प्रेसर कुकर सहित झोला सेनाको टोलीले लगेको छ । त्यसबाट थप केही रहस्य पत्ता लागेमा अनुसन्धानका लागि प्रहरीलाई सहजीकरण गरिदिने श्री २१ नं बाहिनीले जानकारी गराएको छ ।

घटनास्थलमा भेटियो हिमाल सुरक्षा परिषद् नेपालको पर्चा :
शङ्कास्पद बस्तु भेटिएको ठाउँकै छेउमा एउटा पर्चा पनि भेटिएको छ ।

हिमाल सुरक्षा परिषद् नेपाल नामक समूहको पर्चा भेटिएको हो । पर्चामा विदेशी दलालहरूले मुलुकलाई रणभूमिमा परिणत गर्न खोजी रहेको उल्लेख गर्दै विभिन्न माग रहेको उल्लेख गरिएको छ ।

देशद्रोही र दलालहरूबाट देश बचाउनका लागि देशभक्तहरूलाई एक हुन अपिल गर्दै पर्चामा धर्म निरपेक्षता खारेज गरी सनातन हिन्दु धर्म राज्य कायम गर्न, देशले धान्न नसक्ने सङ्घीयता खारेज गर्न, नेपाली धर्म मास्न गरिएको धर्म परिवर्तनलाई रोक लगाउन, २०४७ सालको संविधान लागु गर्न लगायतका माग उल्लेख गरिएको छ ।

पर्चामा समूहको कोशी अञ्चल कमिटीको इन्चार्जको रूपमा अनिसा नाम गरेका व्यक्तिको हस्ताक्षर सहित समूहको छाप समेत लगाइएको छ ।

यही समूहले केही दिन अघि मात्र झापाकै बिर्तामोडमा पनि पनि यस्तै शङ्कास्पद बस्तु राखेको थियो । समूहले निरन्तर रूपमा यस खालका गतिविधि गर्न थालेपछि जिल्लाकै सुरक्षा क्षेत्रमा चुनौती बढ्न थालेको छ ।