धरान : मोरङको बेलबारी बस्ने एक महिलालाई सुन्दरहरैचा नगरपालिका-४ बलियामा रहेको श्रेष्ठ होटल एण्ड फेमेली होटलमा जबरजस्ती करणी गरेको अभियोगमा सोही होटल सञ्चालक सहित ३ जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा मोरङ सुन्दरहरैचा नगरपालिका-४ बलिया चौकका होटल सञ्चालक ३५ वर्षीय अर्जुन कुमार श्रेष्ठ, सोही स्थानका २५ वर्षीय सुरज श्रेष्ठ र झापा मेचीनगर नगरपालिका ३ का २५ वर्षीय राम बहादुर नेपाली भन्ने सुधान्सु दर्जी रहेका छन् ।

उनीहरूले गत माघ ७ गते बेलुका साढे ५ बजे महिलालाई इटहरीबाट घर फर्कने क्रममा गछिया खोलाको पुल नजिकबाट घर पुर्यार्ई दिन्छु भनी गाडीमा चढाएर होटलमा पुर्‍याई जबरजस्ती करणी गरेको खुल्न आएको छ । गत ८ गते सो घटनाको जानकारी पाएको इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले तत्काल होटल सञ्चालक अर्जुन कुमार श्रेष्ठ र सुरज श्रेष्ठ नियन्त्रणमा लिएको थियो ।

तत्काल सो घटना घटाई फरार रहेका राम बहादुर नेपाली भन्ने सुधान्सु दर्जीलाई भने माघ ११ गते इलामको सूर्योदय नगरपालिका १२ तिनघरेमा लुकीछिपी बसेको अवस्थामा १ नं प्रदेश प्रहरी कार्यालय आरआइटी र इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।

पक्राउ परेका तिनै जना उपर जबरजस्ती करणी मुद्दामा कानुनी कारबाही अगाडी बढाइएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।