धरान : धरान उपमहानगरपालिकामा आइतबार देखि १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाहरूलाई कोरोना विरुद्धको खोप लगाईदैछ ।

धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले दिएको जानकारी अनुसार धरानका ४४ वटा खोप केन्द्रबाट विद्यालयमै पुगेर खोप लगाइने छ । माघ १६,१७,१८ र १९ गते तोकिएका विद्यालयको खोप केन्द्रहरूमा पुगेर १२ देखि १७ वर्ष उमेर समूहका सबै बालबालिकाले कोरोना विरुद्धको मोर्डना खोप लगाउन पाउनेछन् ।

त्यस पछि माघ २० र २१ गते खोप लगाउन छुटेका बालबालिकाहरूका लागि पब्लिक हाई स्कुलमा खोप लगाइने छ । खोप केन्द्र ४४ वटा विद्यालयमा तोकिएको भए पनि खोप केन्द्र क्रमसङ्ख्याको आधारमा ३ चरणमा ११, ११ वटा खोप केन्द्रमा गरी ४४ वटा खोप केन्द्र मार्फत खोप लगाइने प्रमुख मेहेताले बताए ।

कोरोना विरुद्धको मोर्डना खोप धरानमा यस पटक १८ हजार बालबालिकालाई लगाइने लक्ष लिइएको बताइएको छ । खोप केन्द्र विद्यालय तोकिए पनि आफूलाई पायक पर्ने विद्यालय तथा खोप केन्द्रहरूमा पुगेर विद्यालय पढ्ने नपढ्ने सबै बालबालिकाले खोप लगाउन पाउने बताइएको छ । खोप विहान १० बजे देखि दिउँसो ३ बजे सम्म तोकिएको खोप केन्द्रहरुबाट लगाउन सकिनेछ ।

N-1 1 N-2 N-3 N-4