धरान: धरानको वडा नं ६ स्थित पानवारीमा यही माघ ७ गतेदेखि चौथो पानवारी भलिवल रनिङ कप २०७५ आयोजना हुने भएको छ ।

पानवारीको सिमल चौरीस्थित खेल मैदानमा माघ १२ गतेसम्म हुने प्रतियोगिताको च्याम्पियनले नगद ७५ हजारसँगै ३० तोलाको चाँदीको ट्रफी पनि पाउनेछ । आयोजक सयपत्री बोइज युनियन क्लबले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा कुल १२ टिम सहभागी हुने जानकारी दिएको छ । ‘१२ टिम सहभागी हुने पक्का भएको छ, हामी भोली शनिबार टाइसिट तयार गछौ,’महासचिव केदार बस्नेतले भने,‘प्रतियोगिताको लागि अन्तिम चरणको तयारीमा छौ ।’

प्रतियोगितामा आयोजक क्लबसँगै १ नं प्रदेश प्रहरी विराटनगर, नेपाल आर्मी इटहरी, झापा टाइगर, डुम्राहा क्लब रामधुनी, भोजपुर भलिवल क्लब, याङशिला युवा भलिवल टिम मोरङ, डाँडाबजार भलिवल क्लब धनकुटा सहभागी हुने क्लबले जनाएको छ । यस्तै, इलामको फुङनाम स्पोटिङ क्लब, चमैता गाउँपालिकाको टिम र एपिएफ पकलीको टिमले पनि सहभागिता जनाउने क्लबका अध्यक्ष एसपजंग रुम्दालीले जानकारी दिए ।

IMG_20190118_101821 copy

प्रतियोगिताको विजेताले नगद ७५ हजार, ३० तोला चाँदीको ट्रफी पाउनेछ भने उपविजेताले ४१ हजार पाउनेछ । यस्तै, उत्कृष्ट खेलाडीले नगद २० हजार, उत्कृष्ट स्पाइकर, उत्कृष्ट लिफ्टर, उत्कृष्ट डिफेन्स र उत्कृष्ट खेलाडीलाई जनही १० हजार पुरस्कार पाउनेछन् । त्यसैगरी, प्रत्येक खेलको म्यान अफ दि म्याच घोषित खेलाडीले जनही नगद ५ हजार पुरस्कार पाउनेछन् । प्रतियोगिताको पहिलो सँस्करण त्रिवेणी युवा क्लब मोरङ भएको थियो भने दोस्रो सँस्करणमा डुम्राहा भलिवल क्लब र तेस्रो सँस्करणको विजेता १ नं प्रदेश प्रहरी विराटनगर भएको थियो । प्रतियोगिताकको संयोजक धरान उपमहानगरपालिका, मुख्य प्रायोजक गोर्खा ब्रुअरी, सह प्रायोजकमा बराह ज्वेलरी, धरान इन्टरनेशनल कलेज र एपोलो पेन्ट्स रहने आयोजकले जनाएको छ ।