काठमाडौं : केही समयदेखि चलेको हल्लालाई सत्य सावित गर्दै सञ्चारकर्मी रवि लामिछाने र चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले कोर्ट म्यारिज गरेका छन् ।

काठमाडौं जिल्ला अदालतमा सोमबार दिउँसो ‘कोर्ट म्यारिज’ गरेपछि रविले सामाजिक सञ्जालमा आफुहरुले यति चाँडै विवाह गर्ने योजना नभएपनि बजारमा आएका विभिन्न समाचार र हल्लाले एक अर्काको खाँचो परेको उल्लेख गरेका छन् । निकितासँगको फोटो शेयर गर्दै रविले लेखेका छन् ‘यो निर्णय यति छिटो गर्ने योजना नै थिएन। तर हामी दुबैप्रति जसरी मानसिक यातना नै हुने गरी अनवरत समाचार र खोजबीन चल्यो त्यसले हामीलाई एक अर्काको निकै खाँचो पर्यो’। उनले ‘व्यक्तिगत जीवनले नयाँ मोड लिएको’ भन्दै फेसबुक स्टाटसमा एकअर्काका परिवार, आफन्त र नातागोताको छलफल र अनुमतिमा विवाह गरेको जनाएका छन् ।

गत साता मात्र रविको श्रीमतिसँग सम्बन्ध बिच्छेद भएको समाचार सार्वजनिक भएको थियो । त्यससँगै रवि र निकिताबीच अफेयर रहेको चर्चापनि चलेको थियो तर दुवैले आफुहरु नजिकको साथी भएको भन्दै आएका थिए । निकिता पनि सात वर्षअघि नै श्रीमानसँग सम्बन्ध बिच्छेद गरेर बसेकी थिईन् ।
रविले फेसबुक स्टाटसमा आगामी बैशाख महिनामा परम्परागत विवाह गर्ने उल्लेख गरेका छन् । उनले दुबैजना यो निर्णयबाट एकदम खुसी रहेको उल्लेख गर्दै सबैबाट सुखद दाम्पत्य जीवनकालागि शुभ कामना चाहेको बताएका छन् ।