२०५५ सालदेखि शुरु भएको बुढासुब्बा रेडबुल गोल्डकपको गौरवपुर्ण इतिहास छ । कति गोल्डकपहरु शुरु भए, रोकिए, तर बुढासुब्बा गोल्डकप देशको विषम परिस्थितमा पनि निरन्तर आयोजना भयो । बुढासुब्बाको २१ औ सँस्करण यही माघ २६ देखि फागुन४ गतेसम्म हुदैछ । त्यही सेरोफेरोमा आयोजक धरान फुटबल क्लबका अध्यक्ष एवं एन्फाको मानार्थ वरिष्ठ उपाध्यक्ष किसोर राईसँग गोल्डकपको तयारीबारे गरिएको कुराकानी प्रस्तुत गरिएको छः

प्रश्न: २१ औ बुढासुब्बा रेडबुल गोल्डकपको मिति नजिकै आइसक्यो,तयारी कस्तो भइरहेको छ ?
उत्तर: हाम्रो तयारी लगभग सबै पुरा भइसकेको छ । यसपाली हामीले प्रचारप्रसारको विगतको शैलीलाई परिवर्तन गरेका छौ । स्वागत गेट, ब्यानरहरु राखेनौ । त्यसले सडकलाई साँघुरो बनाउने र उपमहानगरपालिकाको नीति विपरीत पनि हुने भएकोले यसपाली फरक तरिकाले प्रचार गरिरहेका छौ । यसपटक इलेक्ट्रोनिक मिडियालाई प्राथमिकता दियौ, प्रिन्ट मिडियालाई प्राथमिकता दियौ । खर्च कटौती पनि गर्नुपर्ने भएको छ ।

प्रश्न: बुढासुब्बाको २१ औं सँस्करण विगतको भन्दा के फरक हुन्छ ?
उत्तर: हामीले अन्र्तराष्ट्रिय गोल्डकप भनेका छौ, तर टोलकप जस्तो भइरहेको छ । यसपाली ३ महिनादेखि नै राम्रो विदेशी टिम ल्याउन धेरै प्रयास गर्यौ । एन्फामा नयाँ टिम आएको छ, एन्फाले राम्रो विदेशी टिम ल्याउन व्यवस्थापन गरिदिनुपर्छ भन्ने हाम्रो कुरा थियो । तर, एन्फाले यो कुरा गरिदिएन, यसमा खेद जनाएको छुँ । हामीलाई पैसा दिनुपरेन, काठमाण्डौंसम्म टिम ल्याइदेऊ, त्यहाँबाट यहाँ ल्याउने, लैजाने, थ्री स्टार लेभलको होटलमा राखौला भनेको हो । त्यो टिम फाइनल पुगोस् । नेपाल र भारत, भारत र वंगलादेश वा वंगलादेश र भुटानको टिमको फाइनल खेलोस्, तब पो अन्र्तराष्ट्रिय प्रतियोगिता हुन्छ । त्यो खालको गोल्डकप बनाउन खोज्यौ, भुटान, वंगलादेश, जापानको टिम ल्याउन खुब प्रयास गर्यौ । एउटा टिमलाई ७,८ लाख खर्च गछौं भनेकै हो । त्यो सम्भव भएन । फष्ट लेभलको टिम नभएपनि सेकेण्ड लेभलको राम्रो विदेशी टिम आउछ ।

प्रश्नः त्यसो भए विगतकै जस्तो हुने भो त यसपालीको गोल्डकप ?
उत्तरः होइन, फरक हुन्छ । पुर्वमा हुने जति गोल्डकप छ, त्यसमध्ये सबैभन्दा राम्रो प्रतियोगिता बुढासुब्बा नै हो । प्रतियोगिता राम्रो हुनलाई राम्रो मैदान चाहिन्छ, र त्यसपछि राम्रो टिम । मैदान राम्रो भयो भने म्याच राम्रो हुन्छ । म्याच राम्रो भयो भने प्रतियोगिता राम्रो हुन्छ, प्रतियोगिता राम्रो हुदा आयोजना पक्ष राम्रो हुन्छ । हामीले मैदानलाई एकदमै राम्रो, फष्ट क्लास बनाएका छौ । ग्राउण्डको लेभल मिलाएको छौ, घाँस रोपेका छौ, ग्राउण्ड पुरै वाइड छ । हिजोजस्तो खुम्चिएर खेल्नुपर्ने स्थिति छैन । त्यसले म्याच राम्रो हुन्छ । टिमलाई फोर एंगलबाट मिलाएर काठमाण्डौको टिमलाई ३ वटा एंगलमा राखेका छौ, विदेशी टिमलाई एक ठाउँमा राखेका छौ । खेल ठिक समयमा शुरु गछौ, र दर्शकलाई दिक्क लाग्ने समय हुदैछ । एक्स्ट्रा टाइममा खेलाउन सम्भव होस्, टाइब्रेकरमा जादा पनि समय अभाव नहोस् । त्यो हिसाबले यसपटकको गोल्डकप, टुर्नामेन्ट बेष्ट हुन्छ ।

प्रश्न: बुढासुब्बा गोल्डकपको आफ्नै गौरवपुर्ण इतिहास छ, तर पुरस्कार राशीमा अरुले जितिसक्यो, आयोजकलाई आर्थिक संकट नै भएर हो वा व्यवस्थापनमा समस्या भएको हो ?
उत्तरः साँच्चै भन्नुपर्दा २१ औं सँस्करणमा आइपुग्दा बुढासुब्बा गोल्डकप घिस्रेर आउनुपर्ने अवस्था भयो । बीचमा एन्फामा भएको अन्तरसंघर्षले पनि प्रभाव पर्यो । एन्फामा अन्तरसंघर्ष हुदा किसोर राई कही न कही जोडिन्थ्यो, त्यसले असर पर्छ पर्छ । अर्को कुरा देशैभरिमा धेरै राशी पुरस्कार दिने घोषणा भयो । तर, पुरस्कार दिने बेला चै आयोजकको भागाभाग हुने स्थिति छ । यसपाली २२ लाख दिने घोषणा गरेको खप्तडका आयोजकहरु फोनविहिन छन् । चेक नसाटिएको अवस्था छ । इटहरीकै गोल्डकप सदस्य सचिवज्यू त्यहाँको भइञ्जेल मात्र हो कि भन्ने चिन्ता पनि छ । तसर्थ, धेरै पुरस्कार दिनु ठुलो कुरा होइन, स्थायीत्व हुन्छ कि हुन्न भन्ने सवाल महत्वपुर्ण हो ।

हामीले पनि पुरस्कार धेरै दिन प्रयास नगरेको होइन । धरान उपमहानगरलाई भन्यौ, हामीलाई केही चाहिएन, गोल्डकप र यसले पुरयाएको योगदान सम्झेर पनि पुरस्कार व्यवस्थापन गरिदिनुस् । बुढासुब्बाले धरानलाई मिनि ब्राजिल भनेर चिनायो, एक सा एक खेलाडी उत्पादन भयो, एकेडेमी चल्यो । कसोर राई ४ पटक एन्फा उपाध्यक्ष भयो । यो सबै धरानको सम्पत्ति हो । त्यसलाई मुल्यांकन गरेर समयसापेक्ष पुरस्कार बनाउन पहिलो पुरस्कार १५ लाख गरिदिनुस्, दोस्रो पुरस्कार हामी व्यवस्थापन गछौ भन्यौ, तर मान्नु भएन । दुःखका साथ व्यवस्थापन गर्नुपरिरहेको छ, अर्को पटक राम्रो गछौं । हामी अरुजस्तो बीचमा हराउनेवाला पनि छैनौ । कठिन परिस्थितिमा पनि निरन्तरता दिएका छौ । कफर्युको बेला आर्मीले खेलाडी पक्राउ गर्दा ब्यारेक पुगेर छुटाएका ल्याएर गोल्डकप गरेको इतिहास छ ।

IMG_9941

प्रश्न: अहिले २१ औ सँस्करणसम्म आइपुग्दा आयोजकले उपाधि जित्न सकिरहेको छैन, यो पटकको कस्तो छ तयारी ?
उत्तर: यसपाली आयोजकको टिमलाई धेरै राम्रो व्यवस्थापन गरेका छौ । हाम्रो टिमलाई पनि अरु आमन्त्रित टिमकै सरह व्यवस्था छ । लोकल खेलाडी हुन्छन् । खेलाडीहरुलाई खेल्नुभन्दा एक दिन अघि नै होटलमा एकै ठाउँमा राख्छौ । सैद्धान्तिक क्लास लिन्छौ । फ्रेस बनाइराख्न बाहिर कोहीसँग सम्पर्कमा हुन दिदैनौ । होम ग्राउण्ड हो, दर्शकको साथ हामीसँग छ । धरानको टिमलाई जित्न शुभकामना दिइरहेका छौ । यो पछि सहरा पनि खेल्न जानुछ । यसपाली धरानको टिमले राम्रो प्रर्दशन गर्छ । भर्खर बुधबारे गोल्डकप जितेर आएको टिम छ । धरानका राष्ट्रिय खेलाडीहरु हेमन्त थापा मगर, विष्णु सुनार, लिगमा चलेका वर्तमान राईजस्ता खेलाडी छन् । सबै हिसाबले टिम फिट छ । बुढासुब्बामा पुजा पनि सधै नै गरिनै रहेको छौ, यसपाली चै बुढासुब्बा मात्र होइन, दन्तकाली र पिण्डेश्वर पनि पुजा गर्नुपर्ला भनेर सोचिरहेका छौ ।

प्रश्न: स्थानीय सरकारबाट कतिको सहयोग पाउनु भएको छ ?
उत्तर: जनप्रतिनिधि आएदेखि नै भनिरहेको छुँ, कम्तीमा पनि धरान उपमहानगरपालिकाले खेलकुदको विधान(नीति) बनाओस्, कार्यालय सञ्चालन गरोस् । कार्यालय चलाएको छ भन्ने अहिले सुने । नगरभरि हुने सम्पुर्ण खेलकुदको स्वामित्व लिनुपर्छ । खेलकुदलाई आफ्नो नीतिभित्र पार्नुपर्छ, त्यसमा अग्रसरता लिनुपर्छ । अहिले नगरपालिकाले बुढासुब्बा के भइरहेको छ भनेर खोजविन गर्नुपर्छ । बुढासुब्बालाई यसो गर्नुपर्छ भनेर उसको नीति, मोडालिटीभित्र ढाल्नुपर्ने हो । तर, त्यस्तो महसुस भइरहेको छैन ।

प्रश्न: धरानलाई खेलप्रेमीहरुको सहर भन्छन्, सहयोग कतिको पाइरहनु भएको छ ?
उत्तर: सहयोग सबैबाट भइरहेको छ । तर, बजार क्षेत्र कमजोर छ । यसपटक राम्रो नाफा गर्ने पक्षमा छौ, कम्तीमा अर्काे पटक राष्ट्रिय लिग खेल्नुछ । त्यसको लागि ठुलो बजेट हामीलाई खाँचो छ । मिडियाका साथीहरुबाट धेरे साथ र सहयोग पाएका छौ । प्रायेजनले पनि माया गर्नुभएको छ । यसपाली ९० लाखसम्म उठाउने लक्ष्य लिएका छौ, त्यसो गर्दा २० लाख जसो बचाउन सक्छौ भन्ने छ । अब हामी व्यवसायिक बन्नै पर्छ, वलियो हुनै पर्छ । सबै चेकमार्फत पारदर्शीरुपमा काम गरिरहेका छौ ।