इटहरी : आज विहीबार दिनभर मौसम खराब रहेका कारण इटहरीको फुड फेस्टिभललाई प्रभाव पारेको छ । इटहरीमा हिजोदेखि सुरु भएको फेस्टिभलको दोस्रो दिन आज धुम्मिएर पानी परेका कारण फेस्टिभललाई प्रभाव पारेको हो ।

होटल व्यवसायी संघ इटहरीका अध्यक्ष जीवन पराजुलीका अनुसार फेस्टिभलको पहिलो दिन सोचभन्दा बढी दर्शकको उपस्थिति रहेपनि दोस्रो दिन भने तुलनात्मक हिसाबमा कम दर्शक आएको बताए । ‘हामीले तीन हजार भन्दा बढी दर्शकको अपेक्षा गरेका छौँ, तर केही मौसम बदलिएका कारण प्रभाव पारेको छ’ उनले भने, ‘दिनभर मौसम खराब रहेपनि साँझमा चैँ दर्शकको संख्या बढ्ने अपेक्षा गरेका छौँ ।’ आज साँझ कलाकारहरुले प्रस्तूती दिने भएकाले दर्शकको संख्या बढ्ने उनको भनाई छ । आजैबाट हेलिकप्टरमा सिटी टुरको आयोजना गरिएको उनले बताए । तथापी, मौसम खराब भएका कारण सिटी टुरमा यात्रा गर्ने पर्यटकले सोचेजति मज्जा लिन पाएका थिएनन् ।

शनिबारबाट ताप्लेजुङको पाथीभरा मन्दिरमा यात्रा गर्न जाने कार्यक्रम रहेको छ । पाथीभरा दर्शनका लागि ५ दिनसम्म हेलि बुक गरिएको भएपनि टिकट बिक्री भइरहेकाले अझै थप हुन सक्ने पराजुलीले प्रतिक्रिया दिए । स्थानीय पर्यटक संजीव खड्काले मौसम खराब भएका कारण फेस्टिभललाई प्रभाव पारेको बताए । उनले भने, ‘मौसम बदलिएकाले समस्या भयो, दिनमा पानी पर्दा साँझमा आउँने पर्यटकलाई समस्या हुनेदेखियो ।’ त्यस्तै, स्थानीय पर्यटक उत्तम रेग्मीले पनि कोशी टप्पु आरक्षबाट ल्याइएको एक जोर हात्ती र गैडाको स्तम्भ साथै गुराँसको प्रतिमाले ध्यान केन्द्रीत गरेको भएपनि पानी पर्दा असहज भएको बताए । स्थानीय दिनेश भट्टराईका अनुसार बदलिदो मौसमले समस्या रहेपनि आन्तरिक तथा बाह्य पर्यटक आएर अवलोकन गरे फेस्टिभल सफल हुने विश्वास व्यक्त गरे ।

सोचेजति व्यापार नभएपनि राम्रै मात्रामा व्यापार भईरहेको स्टलका व्यापारीहरुले प्रतिक्रिया दिएका छन् । करीब ३२ लाख बढीको लागतमा सम्पन्न हुने फेस्टिभलमा ६५ वटा स्टल राखिएको होटल व्यवसायी संघका सुनिल भुषालले बताए । फेस्टिभल फागुन ३ गतेसम्म सञ्चालन हुनेछ ।