तत्कालीन माओवादी केन्द्र र नेकपा एमाले दुई पार्टी एकता भएर अहिले नेपाल कम्यिुनिष्ट पार्टी बनेको छ । यही पार्टीको नेतृत्वमा दुई तिहाई बहुमतको सरकार छ । माथिल्लो कमिटि एक भएपनि तल्लो कमिटि र जनवर्गीय संगठनहरु एकीकरण हुन सकेको छैन । त्रिभुवन विश्वविद्यालयले एक चरण स्ववियु चुनावको घोषणा गरेर स्थगित पनि गरिसकेको छ । पार्टीको सबै तह, जनवर्गीय संगठनहरुको एकीकरण नगरेको परिणाम तत्कालिन नेकपा एमालेको भातृ संगठन अनेरास्ववियु र माओवादी केन्द्रको भातृ संगठन अखिल क्रान्तिकारी स्ववियु चुनावमा एक भएर लडछन् कि छुट्टाछुट्टै ? भन्ने प्रश्न पनि खडा भएको छ । यसैसन्दर्भमा, कपुरीकर्मी पारस राईले अनेरास्ववियु सुनसरीका जिल्ला उपाध्यक्ष रोशन रेग्मीसँग गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ :

प्रश्न: अहिले अधिकांश विद्यार्थीहरु पैसा कमाउन, गुण्डागर्दी गर्नका लागि राजनीतिक गर्छन् भनिन्छ, के यो सत्य हो ?

यो आजभन्दा पहिलाको ट्रयाकमा यस्तो थियो होला तर अहिलेको ट्रयाकमा यस्तो छैन । किनभने अहिलेको राजनीतिमा अधिकांश वौद्धिक, शिक्षित विद्यार्थीहरु छन्  र अहिलेको राजनीतिमा लडाई झगडाले केही पनि उपलब्धी हुदैन भन्ने विद्यार्थीहरुमा भान भैसकेको छ । अबको राजनीतिकमा वौद्धिक युवाको खाँचो छ । यसो भयो भने मात्र देश विकासले फड्को मार्ने छ ।

प्रश्न: अनेरास्ववियु सुनसरी जिल्ला समितिले सुनसरीमा के के गरीरहेको छ ?

अहिले त्रिविले स्ववियुको चुनाव वैशाखमा गर्ने भनेर तालिका जारी नगरे पनि एउटा प्रारम्भिक घोषणा गरेको छ । जुन केही समय अघि सुधा त्रिपाठीको नेतृत्वमा एउटा समिति बनाएर प्रारम्भिक घोषणा गरेको हो । सोही बमोजिम अनेरास्ववियुले सुनसरीको विभिन्न क्याम्पसहरुमा रचनात्मक तथा सिर्जनात्मक गतिविधिहरु गर्दै आएको छ । हात्तिसार क्याम्पसमा रोवर्ट एक्स्पो, विभिन्न क्याम्पसहरुमा बास्केटबल, हाजिरीजवाफ कार्यक्रमहरु गर्दै आएको छ । यसको अतिरिक्त  अनेरास्ववियुको माग के हो  भने शिक्षा नियमावली अक्षरस पालना हुनपर्छ । शिक्षा नियमावलीमा प्रष्ट रुपमा उल्लेख भएका कुराहरु जस्तै हरेक प्राइभेट विद्यालय, इन्ष्टिच्युटहरुले गरीव जेहेन्दार विद्यार्थीहरुलाई १० प्रतिशत नि:शुल्क छुटमा पढाईदिनुपर्छ भनेर व्यवस्था गरेको छ । त्यो कत्तिले पालना गरेको छैन । अनेरास्ववियुले चाहे त्यो केन्द्रियस्तरमा होस् वा सुनसरी जिल्ला कमिटिले प्राईभेट विद्यालयहरुले शिक्षा नियमावली अक्षरस पालना गर्नुपर्ने माग गर्दै आएको छ । अनेरास्ववियुले प्याव्सन, एनप्याव्सन र शिक्षा कार्यालयलाई बेलाबेलामा विज्ञप्ती बुझाउदैँ आएको छ । यस्ता खालका गतिविधिहरु रोक्नका लागि अनेरास्ववियु सुनसरी जिल्ला कमिटी निरन्तर लागि पर्नेछ ।

प्रश्न: तत्कालिन नेकपा एमालेको भातृ संगठन अनेरास्ववियु र तत्कालिन नेकपा माओवादीका भातृ संगठन अखिल क्रान्तिकारी यसपालिको स्ववियु चुनावमा एकिकृत भएर लडछन् कि छुट्टाछुट्टै रुपमा चुनावमा उठछन् ?

माथिदेखि नै एकीकृत भएर चुनावमा आएपछि तल पनि एकीकृत भएर नै चुनावमा आउछौँ ।

प्रश्न: सुनसरीमा स्ववियु चुनाव हुने क्याम्पसहरु कति वटा छन् ? अनेरास्ववियुको सुनसरीमा माहौल कस्तो छ ?

सुनसरीमा स्ववियु चुनाव हुने ७ वटा बहुमुखी क्याम्पसहरु छन् । सुनसरीमा नयाँनयाँ क्याम्पसहरु पनि खुलेका छन् । बराह क्याम्पस, राष्ट्रिय जनसहयोग कलेज र भाषि क्याम्पस छन् । यी स्थापना भएका क्याम्पसहरुमा पनि स्ववियुको चुनाव हुनुपर्छ भन्ने हाम्रो माग छ । दुई वटै कमिटीको ७ वटै क्याम्पसमा संगठन छ ।

प्रश्न: अहिले चाँही नेकपाको सरकार छ । धेरै बढी आलोचना भईरहेको छ, यसले चुनावलाई अब कत्तिको असर गर्छ ?

अनेरास्ववियु र क्रान्तिकारीको एकीकरण नभएता पनि हाम्रो संगठनको आफ्नै विधान छ । हाम्रो संगठनको पार्टीसंग तेर्सो सम्बन्ध छ । हाम्रो पार्टीसंग ठाडो सम्बन्ध हुदैन । हामी हाम्रो विधान अनुसार चल्छौँ, पार्टीले भनेको कुरा  सबै मान्नै पर्छ भन्ने पनी छैन । किनभने पार्टीले भनेको अक्षरस चाँही हामीले मान्ने हैन । हामीले सरकार हुँदा पेट्रोलियम पदार्थको मूल्य बढ्ने जस्ता विभिन्न नकरात्मक कुराहरुमा सरकारकै विरुद्धमा आलोचना गरिरहेका छौँ ।

प्रश्न: स्ववियुको चुनाव फागुनबाट वैशाखमा हुने प्रारम्भिक घोषणा गरेको छ । के वैशाखमा स्ववियु चुनाव हुने निश्चित छ ?

स्ववियु चनाव फागुन अन्तिमसम्ममा हुने सम्भावना थियो । तर, त्यो  कसरी टार्यो भने चौथो वर्षको परीक्षा आयो र यसको रुटिङ् पनि आईसक्यो । त्यसकारणले यो परिक्षा लम्बियो भने अरु परिक्षा पनि लम्बिन्छ । यसकारणले गर्दा त्रिविको शैक्षिक क्यालेण्डर फेरी लथालिंग हुन्छ । त्यसैले त्रिविले वैशाखमा गर्ने भनेर प्रारम्भिक घोषणा गरेको हो । वैशाख अन्तिमतिर खालि नै हुन्छ, त्यसैले त्रिविले स्ववियु चुनाव सारेको हुनसक्छ । वैशाख अन्तिमको खालि समयलाई मध्यनजर गर्दै घोषणा गरेको छ । यसमा हाम्रो संगठन लगायत सबै संगठनले सहज रुपमा स्वीकार गरेको छ । तर, सबै संगठनले स्वीकार गर्यो भन्दैमा त्रिविले आखाँमा धुलो छर्कने कोशिस गर्यो भने अनेरास्वीयुको स्थानीय, जिल्ला, केन्द्रिय कमिटी मैदानमा उत्रने छन् ।

प्रश्न: सुनसरीमा स्ववियु चुनाव हुने क्याम्पस, कलेजहरुमा अखिलले एकलौटी जित हासिल गर्न सक्छ ?

यो हाम्रो दावी हो । विगतको इतिहास हेर्ने हो भने अनेरास्ववियु जहिले पनि नेता संगठन हो । स्ववियु चनावमा विगतमा पनि सुनसरीमा मात्र नभई मुलुकभरी नै अनेरास्ववियुले ८० प्रतिशत एकलौटी रुपमा जित हासिल गर्दै आएका छन् । कुनैकुनै क्याम्पसहरुमा स्ववियु चुनाव हुन दिदैनन्, अन्य संगठनहरु । जहाँ जहाँ स्ववियु चुनाव हुन्छ, त्यहाँ त्यहाँ स्ववियु चुनावमा अनेरास्ववियुको सतप्रतिशत जित हासिल हुन्छ । अब हामी दुई संगठनको एकीकरण हुन बाँकी छ भएपछि ८० प्रतिशत मात्र हैन ९० प्रतिशत माथि जित हासिल गर्न सक्छौ । अनेरास्ववियु र अखिल कान्तिकारी एकीकरण भएपछि जीत निश्चित छ । यही कुरालाई लिएर नेपाली कांग्रेसका भातृ संगठन नेपाल विद्यार्थी संघले स्ववियु चुनाव नगर्ने भनेर देशैभर टार्न खोजिरहेका छन् ।

प्रश्न: भनेपछि नेविसंघ आएन भने स्ववियु चुनाव हुन्छ ?

नेविसंघ आएन भने स्ववियु चुनाव हुदैँन । स्ववियु चुनाव हुनका लागि जसरी पनि नेविसंघ चुनावमा आउनुपर्छ । लोकतान्त्रिक विधि मान्नेको भातृ संगठन हो । प्रजातान्त्रिक लोक अभ्यास निर्वाचन, आवधिक निर्वाचन, मतदाता निर्वाचन मान्छु, प्रतिष्पर्धामा आउँछु भन्ने पार्टीको भातृसंगठनले निर्वाचन ढाल्नु मिल्दैँन । जुन अहिले स्ववियु निर्वाचन सार्ने खेल भइरहेको छ । यसमा १ सय प्रतिशत नेविसंघकै हात छ । नेविसंगले चुनावमा हार्छु भनेर आत्समर्पन गरीसकेको छ । यतिमात्र हैन कि हामि त यदि नेविसंघ चुनावमा आउन तयार छन् भने २० प्रतिशत मत उनीहरुलाई दिन तयार छौँ ।