धरान:धरानभित्र चलेका टेम्पो र इ रिक्सा(सफारी)ले सडक तथा सवारी आवागमनलाई अस्तब्यस्त मात्र बनाएको छैन, धरान बजारको सौन्दर्यलाई नै कुरुप बनाएको छ ।

पार्किङ अभावले ट्राफिक व्यवस्थापन अस्तब्यस्त छ । यही कुरालाई मध्यनजर गर्दै धरान नगरकार्यपालिकाले उपमहानगरको क्षेत्रभित्र थप टेम्पो र इ रिक्सा प्रवेश एवं सञ्चालनको अनुमति नदिन यायायात व्यवस्था विभागलाई पत्राचार गरेको छ । धरानकी कार्यवाहक प्रमुख मञ्जु भण्डारी सुवेदीले सवारी व्यवस्थापनमा देखिएको समस्या हल गर्नलाई नगर कार्यपालिकाबाट निर्णय गरेर पत्राचार गरिएको जानकारी दिइन् । ‘पार्किङको ठाउँ छैन, टेम्पो र सफारी बढेको बढेकै छ, त्यसैले व्यवस्थापन गर्नको लागि कार्यपालिकाले नै निर्णय गरेको हो,’भण्डारीले भनिन्,‘यातायातमा पत्राचार पनि भइसकेको छ ।’

नगर कार्यपालिकाले माघ १४ गते नै टेम्पो र इ रिक्साको लागि थप रुट पर्मिट नदिन यातायात विभाग र इटहरीस्थित यातायात व्यवस्था कार्यालय कोशीलाई पत्राचार गर्ने निर्णय गरेको थियो । उक्त निर्णय वमोजिम विभागमा पत्राचार भइसकेको छ । पत्राचारको बोधार्थ जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई पनि पठाइएको उपमहानगरले जनाएको छ । ‘नगरक्षेत्रमा दिनदिनै टेम्पोको संख्या वृद्धि भइरहेको र बजार अस्तब्यस्त भै दैनिक सवारी दुर्घटना हुने गरेकोले धरान उपमहानगरपालिका क्षेत्रभित्र टेम्पो र इ रिक्सा प्रवेश र सञ्चालन हुने गरी रुट पर्मिट नदिन’ भन्दै विभागलाई आग्रहका साथ लेखिएको पत्रमा उल्लेख गरिएको छ ।

tempo-letter

धरानको मुख्य बजार क्षेत्र भानुचोक क्षेत्र, देशीलाइन, पुतली लाइनलाई टेम्पो र सफारीले ढाकेको हुन्छ । सडक जाम भएर अस्तब्यस्त हुन्छ । पार्किङको अभाव छ । सडकमै पार्किङ गरिएको हुन्छ । अझ सफारीको कारणले थुप्रै दुर्घटना निम्तिएको छ । जतापायो त्यतैबाट टर्निङ गर्ने गर्छन् । लाइसेन्स विना नै सफारी र टेम्पो चलाइरहेका छन् । जसले दुर्घटनाको जोखिम अत्यधिक छ । सडक र पार्किङको समस्या, सवारी व्यवस्थापनको समस्यालाई ट्राफिक प्रहरी, यातायात व्यवसायी र धरान उपमहानगरपालिकाले पनि समाधान गर्न सकिरहेको छैन ।

धरान भएर दैनिक हजार भन्दा बढी संख्यामा आवागमन हुन्छ । धरानभित्रै पनि हजारौ चारपांग्रे गाडी, मोटरसाइकल गुड्छन् । सवारीसाधनको संख्या दिनप्रतिदिन बढ्दो छ । सवारीको चाप बढ्दै जादा सडकको क्षमता भने बढेको छैन । यातायात व्यवस्था कार्यालयले पनि धरान नगरको सडकले कति सवारी चाप(संख्या) थेग्न सक्छ भनेर ख्यालै नगरी रुट पर्मिट दिने र दर्ता गर्ने गर्छ । यसले समस्या थपिएको थपिएकै छ । धरानमा मात्र ५ हजारभन्दा बढी टेम्पो र इ रिक्सा भएको अनुमान छ ।

tempo-safari, 1