धरान: सोमबार दिउँसो धनकुटाको चौबिसे गाउँपालिका स्थित ६ नम्बर बुधबारेबाट धरान आउदै गरेको बस धरान १३,जिरोपोइन्टमा दुर्घटना हुदा ४ जनाको ज्यान गयो भने ४७ जना घाइते भए ।

धरानको जिरोपोइन्टमा सडक किनारमा एउटा ठुलो सिमेन्टको फुटबल बनाइएको थियो । त्योसँगै स्वामिको रुख पनि थियो । विजुलीको पोल पनि त्यही ठडिएको थियो । सोमबार दिउँसो ना ६ ख २७१३ नम्बरको बस त्यही फुटबलमा ठोक्कियो । फुटबल उभिएको ठाउँबाट केही पर उछिटियो । त्यसपछि बस विजुलीको पोल र स्वामीको बोटमा जोडले ठोक्किदै पल्टियो । बसको अगाडिको भाग पुर्णरुपमा क्षतिग्रस्त भयो । चालकसहित केही यात्रु च्यापिए । बसलाई पछि जेसिबि ल्याएर तानेर मात्र चालकसहित केही घाइते यात्रुको उद्दार हुन सक्यो ।

Bus-3

तीब्र गतिमा आएको बस फुटबलमा अकास्मत ठोक्किएको हो कि चालकले स्वविवेकले त्यहाँ ठोक्काएका हुन् ? बस ब्रेक फेल भएको घाइते यात्रुसँगको कुराकानीबाट खुल्छ । त्यसो भए चालकले स्वविवेकले आफ्नो पनि ज्यान जाने गरी गाडी त्यहाँ ठोक्काएका हुन् ? त्यहाँ गाडी नठोकिएको वा नठोक्काएको भए के हुन्थ्यो ? यसको जवाफमा इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुमन तिम्सिना भन्छन्,‘बस ब्रेक फेल भएको थाह पाएपछि चालकले क्षति कम गराउनकै लागि त्यहाँ ठोक्काएका हुन् । तर, आफै पनि बचेनन् ।’

accidents68

डिएसपी तिम्सिनाका अनुसार अमरहाट पुग्ने बेलामा चालकले गाडी ब्रेक फेल भएको चाल पाए । गाडी ब्रेक फेल भएकोबारेमा केही यात्रुहरुले पनि थाह पाइसकेका थिए । जिरोपोइन्ट नाघेर तलतिर लागेपछि लक्ष्मी चोक, छाता चोक हुदै ब्यस्त र भिडभाड हुने मुख्य बजार क्षेत्र भानुचोक केही क्षणमा नै आउनेथियो । ब्रेक फेल भएको बस नियन्त्रणमा नहुने हुदा त्यसक्षेत्रमा थप ठुलो क्षति हुनसक्थ्यो । त्यसैले जिरोपोइन्टमा नै चालकले बसलाई सिमेन्टको फुटबल र स्वामिको रुखमा ठोक्काएर क्षति कम गर्ने तत्काल निर्णय गरेको हुनसक्ने डिएसपी तिम्सिनाले बताए । ‘जिरोपोइन्टबाट ओरालो लागेपछि त झन् बसको स्पिड बढ्थ्यो, र ब्यस्त, भिडभाड एरिया पनि आउने भएकोले धेरै ठुलो क्षति हुन्थ्यो । यही सोचेर चालकले बसलाई रोकेर सुरक्षित गर्न तत्कालै फुटबल र रुखमा गाडी ठोक्काएको हुनसक्छ,’उनले भने ।

acc

६ नं बुधबारे धनकुटा जिल्लाको पुर्वीदक्षिणी सीमावर्ती ठाउँ हो । त्यहाँबाट छुटेको गाडी साम्मेवा, राजारानी, डाँडाबजार, नाम्जे, भेडेटार हुदै धरान आउछ । यो रुटमा कमै गाडी चल्छ । त्यसैले यात्रुहरु खचाखच थिए । भेडेटारबाट आरालो झरेर शिवधारा कटिदासम्म ठिक अवस्थामा भएको बस जिरोपोइन्ट आउनुअघि एक्कासी समस्या आएको घाइते यात्रुहरुसँगको कुराकानीबाट पनि खुल्छ । ‘दुर्घटना हुनु केही बेर अघि बस करायो, चालकले स्टेरिङ जोडले घुमाउदा घुमाउदै दुर्घटना भयो,’घाइते टंकबहादुर लिम्बूले भने ।