इटहरी : इटहरी उद्योग बाणिज्य संघ इटहरीको चुनाव नजिकिदै गएपछि नयाँ लफडा सुरु भएको छ । उद्योग बाणिज्य संघ इटहरीको आगामी असार १४ गते हुने चुनावमा अहिले व्यवसायीहरुले धमाधम व्यवसाय दर्ता गर्न थालेपछि नयाँ लफडा सुरु भएको हो ।

नेकपा निकटका वर्तमान बरिष्ठ उपाध्यक्ष शैलेश बिष्ट र नेपाली कांग्रेस निकट बर्तमान सदस्य भीम पौडल चुनावी प्रतिष्पर्धामा रहेका छन् । यता पौडेल पक्षधरका एक व्यक्तिले अहिले व्यक्ति स्वयम् करदाता कार्यालयमा गएर व्यवसाय दर्ता गरेको र उद्योग बाणिज्य संघमा पनि व्यक्ति नै उपस्थिति भएर दर्ता गराएको भएपनि चुनावमा पराजित हुने भएपछि लफडा सुरु भएको जानकारी दिए । ‘उहाँहरुले (विष्ट पक्षधरले) एक हजार भन्दा बढी फर्म किर्ते गरेर पहिला दर्ता गर्नुभयो, किर्ते सही गर्दा अधिकृतले सही गरेको पनि निवेदकको सहीमा परेछ उनले नाम नखुलाउने सर्तमा भने, ‘अहिले नयाँ व्यवसाय दर्ता अधिक संख्यामा भएपछि चुनाव हार्ने डरले चुनाव सार्नुपर्छ भनियो ।’ उनका अनुसार बिष्ट पक्षधरले आफ्नै ढंगमा सुरुमा दर्ता गरेको भएपनि अहिले चुनावमा हार व्यहोर्ने डरले चुनावमा फण्डा गर्न खोजेको आरोप लगाए । ‘उनीहरुले किर्ते गर्दा पनि त्यहि कुरा साँचो हुनुपर्ने अहिले सम्बन्धित व्यक्ति नै उपस्थिति हुँदा दोष लगाउने कुनै ठाउँ छैन,’ उनले भने, ‘उहाँहरुले चैँ नवीकरण गर्ने बेला किर्ते गर्नुभयो, अहिले हार्ने सम्भावना भएपछि फण्डा गर्न पाईन्छ ?’ उनका अनुसार चुनाव सार्ने रणनीति गर्नु गलत रहेको बताए ।

यता उद्योग बाणिज्य संघका बर्तमान बरिष्ठ उपाध्यक्ष समेत रहेका शैलेश बिष्टले भने जेष्ठ १० गतेसम्म नवीकरण र नयाँ दर्ताको म्याद भएको भएपनि मंगलबार (आज) बाट नै दर्ता प्रक्रिया रोकेको जानकारी दिए । उनले भने, ‘नवीकरणको समय आज नै अन्तिम भयो, यहाँ आयातित व्यवसायी भए, मत हाल्नका लागि मात्रै दर्ता गर्ने व्यवसायी बढेका छन् ।’ उनका अनुसार अहिले पौडेल पक्षधरले लेटाङ र कानेपोखरीबाट मानिस ल्याएर नयाँ व्यवसाय दर्ता गरेको आरोप लगाए । ‘इटहरीमा व्यवसाय नै छैन, तर फर्म दर्ता भईरहेको छ । यसकारणले पनि हामीले कार्यसमितिको बहुमतबाट आजदेखि फर्म दर्ता नगर्न निर्णय गर्यौँ ।’ उनले भने । गैरव्यवसायिकको संख्या बढेकाले आँफू उद्योग बाणिज्य संघको भविष्यको चिन्ताका कारण मंगलबार बाटनै नयाँ व्यवसाय दर्ता गर्न रोकेको बताए । सुरुमा किर्ते गरेर व्यवसाय दर्ता गराएको आरोप छ नि भन्ने प्रश्नमा भने, ‘त्यस्ता खालका गतिबिधि भएका छन् भने छानबिन समिति गठन गर्नुपर्छ, हामीले त्यसो गरेका हैनौँ, तर उहाँहरुले अहिले भने गैरव्यवसायिक मानिसहरुलाई पनि दर्ता गराउनु भएको छ ।’ यता उद्योग बाणिज्य संघ इटहरीका पूर्व महासचिव दिवस पोखरेलले उवासंघको विधान अनुसार फर्म रोक्ने काम गलत रहेको प्रष्ट पारे । उनले भने, ‘उद्योग बाणिज्यको बिधान अनुसार नयाँ दर्ता र रिनु प्रक्रिया ३५ दिन अगाडि हुनुपर्ने हो, तर उहाँहरुले यो काम रोक्नुभयो ।

’ उनका अनुसार नगरपालिकाले व्यवसायको प्रमाणपत्र दिएको र करदाता कार्यालयले पनि प्रमाणपत्र दिदाँ गैरव्यवसायिक हुने कारण नभएको बताए । भने, ‘गैरव्यवसायिक भनेको के हो ? नगरपालिका र करदाता कार्यालयले नै व्यवसायिक प्रमाण गरिसकेको छ ।’ पोखरेलका अनुसार सुरुमा कार्यसमितिले नै माईकिङ गरेर जेष्ठ १० गतेसम्म फर्म दर्ता गर्नुपर्ने भएको भएपनि अहिले षड्यन्त्रपूर्वक तरिकाले फर्म दर्ता गर्न नदिनु गलत रहेको बताए । उनले भने, ‘उहाँहरुले एकै व्यक्तिले १० जनाको पनि फर्म भरेको अवस्था छ, तर अहिले त आधिकारिक मानिस जाँदा पनि दर्ता गर्न नपाउने यो कहाँको बिधान हो ?’ बिधान मिचेर गलत प्रक्रियाबाट यो काम भईरहेको छ ।

विपक्षी मानिसहरु चुनाव हार्ने भएपछि आत्तिएको आरोप लगाउँदै उनले बिधानमा भएको कुरा साधारणसभाले मात्रै हटाउन मिल्ने बताए ।