इटहरी: इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरीले इटहरी १९ का वडासचिव मनोज दाहाल र उपमहानगरपालिकाका सब ओभरसियर राम खड्कामाथि हातपात गरेका छन् । विहानको समयमा सब ओभरसियर खड्कामाथि सेवाग्राहीसँग घुस लिएको भन्दै इटहरीका मेयर चौधरीले हातपात गरेको घटना बाहिरियो ।

मेयर चौधरीले दुई कर्मचारीलाई एकैदिन गलत आरोप लगाउँदै हातपात गरेपछि कर्मचारीहरु रुष्ट बनेका छन् । सुरक्षाको प्रत्याभूति नभएको भन्दै कर्मचारीहरु आन्दोलित बनेका छन् । घुस लिएको भन्दै मेयर चौधरीले सब ओभरसियर खड्कालाई कार्यालयबाट गलहत्याएर निकाले । उनले घुस खाने कर्मचारीलाई यहाँ प्रवेश छैन भन्दै गेटबाटै बुधबार निकाले । लगत्तै बुधबार मध्ह्यान्नको समयमा इटहरी १९ का वडासचिव दाहाललाई नगरपालिका परिसरमै बोलाएर भ्रष्टाचार गरेको भन्दै हातपात गरे ।

आन्दोलित कर्मचारीहरुले मेयर चौधरीबिरुद्ध कर्मचारीहरुले नाराबाजी गर्दै इटहरी उपमहानगरपालिकाको गेट अगाडि मुख्य सडकमा प्रर्दशन गरे भने ईलाका प्रहरी कार्यालय पुगेका थिए । उजुरी गर्ने ठाउँ हुँदा–हुँदै मेयरले हातपात गरेर दादागिरी गर्न खोजेको आरोप लगाए । कर्मचारीले काम गर्ने वातावरण नभएको बताउँदै मेयरले हातपात गर्नु निन्दनीय रहेको कर्मचारीको भनाई रहेको छ । ‘यी सबै कर्मचारी भ्रष्ट हुन्’ भन्दै मेयरले हातपात गरेको कर्मचारीहरुले बताएका छन् ।

उपमहानगरपालिकामा तालाबन्दी

karmachari-aandolan

यसैबीच, कर्मचारीहरु संगठित भएर इटहरी उपमहानगरपालिका परिसरमा अनिश्चितकालीनका लागि तालबन्दी गरेका छन् । कर्मचारीहरुले बिहीबारबाट काम नगर्ने भन्दै तालाबन्दी गरेका हुन् । योसँगै ईलाका प्रहरी कार्यालय इटहरीमा पीडित दाहाल र खड्काले जाहेरी दिएका छन् । जाहेरी दिएको भएपनि प्रहरीले दर्ता भने गरेको छैन ।

यता, ईलाका प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी नायव उपरीक्षक समीरचन्द्र खरेलले मेयरले हातपात गरेकाले नाराबाजी गर्दै ईलाकामा आएको बताए । उनले भने,‘कर्मचारीहरु नै नाराबाजी गर्दै आउनुभएको थियो, उहाँहरुले उजुरी पनि दिनुभएको छ, हामी आवश्यक अनुसन्धान गरि अरु प्रक्रिया अगाडि बढाउँछौँ । यो कर्मचारीको बिषय भएका कारण हामीले सिडिओ सापसँग छलफल गर्नुपर्छ ।’ उनका अनुसार मेयरले हातपात गरे नगरेको भन्ने खुलिनसकेको बताए । तथापी, यस्ता मुद्धा न्यायिक समितिले हेर्ने बताउँदै उनले सम्बन्धित प्रमाण भेटिएमा मुद्दा दर्ता गर्ने बताए । यता मेयर चौधरीसँग यस बिषयमा बुझ्नका लागि पटक-पटक सम्पर्क गरेपनि फोन सम्पर्कबिहीन रह्यो ।