सुनसरी :  इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरीले बुधबार दिउँसो कर्मचारीमाथि हातपात र पत्रकारमाथि दुव्र्यवहार गरेसँगै सामाजिक सञ्जालमा उनकोबारेमा टिकाटिप्पणी र आलोचना भइरहेको छ ।

साविक एमालेका जिल्ला अध्यक्षसमेत भइसकेका र करिब ३ दशक राजनीतिमा विताएका चौधरी मेयर भएदेखि नै अस्वाभाविक व्यवहार देखाउने गरेको चर्चा हुदै गरेको थियो । पछिल्लो घटनाले भने उनको बोली र व्यवहारबारे छताछुल्ल भयो । बुधबारको घटनाबारे आज बिहिबार प्रतिक्रिया लिन खोज्दा मेयर चौधरी झनै उग्ररुपमा मिडियासँग प्रस्ततु भए । अनलाइनखबरसँग मेयर चौधरीले दिएको प्रतिक्रिया जस्ताको तस्तै:

‘भ्रष्ट कर्मचारीलाई ताजन दिने हो, अझै दिन्छु । केको पत्रकार ? जब राँगो बम्किएर हिँड्न थाल्छ नि, माकुराको जालो सिङमा बेरिएर कहाँ पुग्छ ! यस्ता पत्रकार ! यस्ता कर्मचारी ! हामीले प्रतिगमनविरोधी आन्दोलन गरेकै हो । राजाको विरुद्ध, निरंकुशता पञ्चायतको विरुद्ध आन्दोलन गरेकै हो । अश्रुग्यास खाकै हो । लाठीमुंग्री खाकै हो । यस्ता नाथे थट् !

के चैं गर्छन् पत्रकारले ? पत्रकार मुला, जे कुरा सोध्नपर्ने हो, त्यो नसोध्ने । कार्यपालिकाको बैठकबाट निर्णय गरेर सीएफएलको भुक्तानी दियो भनेर आरोप लाउँछ वायस भएर । मैले त लोपारी नै दिएँ, भाइरल भइरहेछ त्यो भिडियो । लोपारेको हुँ पत्रकारलाई । एकपटक कर्मचारीले ट्याङ्करको तेल चोर्न पाउनुपर्छ भनेर आन्दोलन गरेकै हो । हामीले तेल चोर्न पाउँ भन्या हैन ? इटहरीका कर्मचारीले घुस खान पाउँ भनेको हडताल हो यो । यो हडतालको कसले समर्थन गर्छ ?

मैले हात नहाल्नु ? लात्तले दिन्छु ती भ्रष्टाचारीहरुलाई । हात नहाल्नु ? लात्तले कुट्छु । तपाई लेख्नुहोस्, अब हातले मात्रै होइन, लात्ताले हान्छ मेयरले । म थारुको छोरो हुँ, एत्राको नियम कानून ! तिनीहरु नियम कानुन मिलाएर भ्रष्टाचार गर्छन्, म लात्ताले हान्छु । भ्रष्टाचार उनीहरुले गर्ने, मैले वयान दिने ? चोरहरुलाई ! तपाईको केही भन्नु छ ? लात्तैलात्ताले दिन्छु म । २० सै वटा वार्डमा लात्तले दिन्छु वडाध्यक्ष र सचिवलाई ।

पत्रकार, त्यो २० वर्षको केटा १ मेरो छोरो ३१ वर्षको छ । कान्छो छोरो २४ वर्षको छ । लोकतन्त्र मलाई सिकाउने ? ३० वर्ष राजनीति मैले गरिसकें । लोकतन्त्र, मानवअधिकार, प्रेस स्वतन्त्रता, वाक् स्वतन्त्रताको कुरा सिकाउने ? जब मुलुक संकटमा हुन्छ, त्यतिखेर वाक् स्वतन्त्रता, प्रेस स्वतन्त्रता, मौलिक हकका कतिपय संविधानका धारा पनि निलम्वन हुन्छन् । सुन्नुहोस् पत्रकारज्यु, त्यतिखेर आवधिक निर्वाचन, धेरै कुराहरु पनि हुन सक्छन् । यो पनि सरकारको त्यसकारण जब इटहरी सरकारमा संकट आयो, जनताको सुविधामा अवरोध भो, भ्रष्टाचार भो, त्यस्ता कर्मचारीलाई फूलमाला लाएर नगरभरि मैले रथारोहण गर्नु ? यस्तालाई ताजन दिने हो, अझै दिन्छु ।'