धरान: दिउँसै धरान क्षेत्रमा लघुबित्तका कर्मचारीलाई गोली प्रहार गरी भएको लुटपाटको घटनामा संलग्न व्यक्ति अझै पक्राउ पर्न सकेको छैन ।

प्रहरी निरन्तर घटनाको अनुसन्धान र संलग्नहरुको खोजीमा जुटेको छ । तर घटना भएको तीन दिन बितिसक्दा पनि घटनामा को संलग्न थिए भन्ने क्लुको नजिक पुग्न सकेको छैन । धरानको कमाण्ड सम्हाल्न आएका नयाँ डिएसपी ढुण्डीराज न्यौपानेको लागि यो घटना चुनौतीकोरुपमा देखा परेको छ । उनी आफै घटनाको अनुसन्धानमा निरन्तर लागेका छन् भने १ नं प्रदेश कार्यालयको टोली पनि यो घटनाको अनुसन्धानमा छ । ‘हामी निरन्तर अनुसन्धानमा नै छौं, म अहिले पनि फिल्डमा नै छुँ,’डिएसपी न्यौपानेले भने,‘प्रदेशको टोली पनि अनुसन्धानमा नै छ । हामी पनि खोजी गरिरहेकै छौं ।’

घटनाको अनुसन्धानमा प्रहरी मात्र होइन, संस्थाले पनि घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ । आन्तरिकरुपले घटना भएको क्षेत्रमा मानिस खटाएर केही क्लु पत्ता लगाउने प्रयास गरिरहेको छ । मोरङको कटहरीमा मुख्य कार्यालय रहेको जीवन विकास लघु बित्त वित्तिय संस्था लिमिटेडका कर्मचारी ३५ बर्षीय शम्भुप्रसाद गच्छदारमाथि आइतबार गोली प्रहार गरेर अपरिचित व्यक्तिले पैसा लुटेका थिए ।

धरानको वडा ४ र ५ को काम सकेर मोरङतर्फको लामिछानेटारमा पैसा संकलन गरेर धरान फर्कने क्रममा उनीमाथि आक्रमण भएको थियो । दुई वटा मोटरसाइकलमा आएका ३ जनाको समुहले गच्छदारमाथि गोली प्रहार गरेका थिए । गच्छदारको देब्रे कम्मरमाथि र देब्रे हातको पाखुरामा गोली लागेको थियो । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत गच्छदारको अवस्था सामान्य छ ।

३ लाख मात्र लुटेको खुलासा

संस्थाका सहायक महाप्रबन्धक दामोदर रेग्मीका अनुसार लुटेराहरुले गच्छदारको साथबाट ३ लाख जति मात्र रकम लुटेको खुलेको छ । गच्छदारले समुहबाट ४ लाख २५ हजार रुपैया संकलन गरेपनि लगानी पनि भएको थियो । त्यसैले उनको साथमा भएको करिब ३ लाख जति मात्र रकम लुटिएको रेग्मीले बताए । ‘पैसा संकलन चै ४ लाख २५ हजार भएको रहेछ, तर लगानी पनि भएकोले ३ लाख जति पैसा बोकेर फर्कदै गर्दा लगेछन्,’उनले भने ।