इटहरी : इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरीले भ्रष्टाचारी कर्मचारीलाई कालो मोसो लगाएर शहर घुमाउने चेतावनी दिएका छन् ।

सोमबार इटहरीमा भ्रष्टाचार विरुद्ध अभियानकर्मीहरुले आयोजना गरेको कार्यक्रममा बोल्दै मेयर चौधरीले भने, ‘अहिलेसम्म जागिर खायौ, अब राजीनामा देऊ । अन्यथा सेतो सर्ट र निलो पेन्टमा भ्रष्टकर्मचारीलाई कालो मोसो दलेर सहर घुमाउनेछु । म जनतालाई आह्वान गर्दछु कि जनकारबाही गर्नुहोस् ।’

उनले आर्थिक, सामाजिक, साँस्कृतिक रुपान्तरणको दिशामा अघि बढ्न आवश्यक रहेको औल्याउँदै भ्रष्टाचारको निर्मूलीकरण गर्नुपर्नेमा जोड दिए । मेयर चौधरीले भने, ‘अब म आँफै घडेरी बेचेर डोजर चलाउँछु, तलबले कसैको घरबार चल्दैन भने व्यापार गर्नुहोस् ।’ उनले पत्रकार र कलाकारपनि भ्रष्ट रहेको आरोप लगाउँदै भने, ‘अहिले पनि श्रमजीवी पत्रकारलाई मिडिया हाउसहरुले श्रमशोषण गरेका छन् ।' मेयर चौधरीले बोल्दै आँफूले जुन अभियानको नेतृत्व गरेको हो त्यसका लागि जनताका साथ चाहिने बताए । उनले कुनै पनि हालतमा इटहरीलाई भ्रष्टारचामुक्त नगर बनाउने बताए ।

31

पूण्यप्रसाद न्यौपानेको सभाध्यक्षमा सम्पन्न कार्यक्रममा इटहरी क्षेत्रका सयौँ मानिसहरुको उपस्थिति रहेको थियो । उनीहरुले भ्रष्टाचारीलाई सामाजिक बहिष्कार गरौँ, नेपाली जनताले के भन्छ, भ्रष्टाचारीलाई लखेट भन्छ, सुशासन, दीगो विकास तथा भ्रष्टाचार विरुद्धको अभियानमा सहभागी बनौँ, कर तिर्ने जनता रकम जाने अन्त, बोलौँ जनता बोलौँ, भ्रष्टाचारीको पोल खोलौँ जस्ता पम्प्लेट बोकेर विरोध जनाएका थिए ।
तस्वीर: महेश्वर कार्की 

30