धरान: सुरक्षा निकायको असहमति र विभिन्न राजनैतिक दलहरुको विरोध हुदा हुदै पनि सोमबार धरानको पब्लिक हाइस्कुलमा सस्तो बजार एवं साँस्कृतिक उत्सवको नाममा रमाइलो मेला शुरु भयो । तर, भोलीपल्टै धरानमा अप्रिय घटना भयो ।

मेलाको विरोध गरिरहेका विभिन्न ६ राजीतिक दल तथा संगठनहरुले मंगलबार दिउँसो विरोध प्रर्दशन गर्ने क्रममा चतरालाइनस्थित मेला प्रवेशको मुल गेट तोफफोड गरे । पार्टीका नेताहरु उपमहानगरपालिका गेटअघि नाराबाजी र भाषण गर्दै गर्दा केही युवाहरु भने गेट तोडफोड गर्न गएका थिए । त्यसक्रममा प्रहरीसँग मेला विरोधी युवाहरुको झडप भयो । युवाहरुले गेट तोडफोड गर्दै मेला आयोजना भएको मैदानतर्फ प्रवेश गर्ने प्रयास गर्दा प्रहरीले वल प्रयोग गरी रोकेका थिए । विरोधी पक्षका युवाहरु मैदानमा प्रवेश गरेको भए ठुलो रक्तपान हुने खतरा थियो । किनभने, मैदानमा मेला आयोजना गर्ने पक्षका युवाहरु पनि तम्तयार भएर बसेका थिए ।

प्रहरीले उनीहरुलाई बीच बाटोमा नै रोकेपनि विरोधी पक्षले ढुंगामुढा प्रहार गरेका थिए । त्यसक्रममा प्रहरी पनि सामान्य घाइते भए भने ढुंगा प्रहारबाट मेला आयोजक पक्षका धरान १५ निवासी कालुराज लिम्बुको टाउको फुट्यो । यस्तै, प्रहरीले रोक्दा रोक्दै पनि मेला पक्षका युवाले छुरा प्रहार गरेर विरोधी पक्षका युवा सक्षम श्रेष्ठलाई घाइते बनाइदिए । उनको ढाडमा छुराले काटेको छ । ठुलो झडपको स्थिति बनेपछि प्रहरीले ५ राउण्ड अश्रु ग्याँस प्रहार गरेर दुवैतर्फको भिडलाई तितरबितर पारेको थियो । करिब आधा घण्टा धरानको छाता चोकदेखि उपमहानगरपालिका कार्यालयसम्मको क्षेत्र रणमैदानमा परिणत भयो । प्रहरीले चतरालाइनमा आवागमनलाई पनि निषेध गरेको थियो ।

मेला निर्णयप्रति प्रमुख दल नेपाली कांग्रेसले नीतिगत एवं संस्थागत भ्रष्टचार भएको आरोप लगाउदै असन्तुष्टी प्रकट गरिसकेको थियो । यस्तै, संघीय समाजवादी फोरम, संघीय लिम्बुवान मञ्च, राष्टिय जनमुक्ति पार्टी, मंगोल नेशनल अर्गनाइजेशन, वाइसिएललगायत विभिन्न ६ दल र संगठनहरुले पनि मेलाले विकृति, विसंगति मात्र बढाउने र युवाहरुबीचमा मनमुटाव, झगडा हुने भन्दै मेलाको निर्णय फिर्ता गर्न आग्रह गर्दै आएको थियो । उनीहरुले यसअघि ज्ञापन पत्र बुझाउदै र सडक आन्दोलन गरेर पनि मेला नलगाउन चेतावनी दिइसकेका थिए । तर, एमाले पार्टीसँगै कांग्रेसको केही मेला पक्षधर नेताहरुको पनि साथ पाएको उपमहानगरले निर्णय फिर्ता नलिने अडान लियो ।

मेला बन्द गर्न सिडिओको निर्देशन

झडप भएलगत्तै सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले मेला बन्द गर्न प्रहरीलाई निर्देशन दिएका छन् । साथै, उनले धरान उपमहानगरपालिकाकी कार्यवाहक प्रमुख मञ्जु भण्डारी सुवेदीलाई पनि मेला नलगाउन भनेको जानकारी दिए । ‘मेला अब बन्द हुन्छ, मैले प्रहरीलाई पनि निर्देशन दिइसकेको छुँ,’सिडिओ उप्रेतीले भने,‘धरानको कार्यवाहक मेयरलाई पनि सुरक्षा प्रबन्ध गर्न सकिदैन पहिल्यै भनेको थिए, फेरी पनि त्यही दोहोर्याएर बन्द गर्न भनिसकेको छुँ ।’ धरानका डिएसपी सुमन तिम्सिनाले पनि जिल्लाबाट मेला बन्द गराउने निर्देशन आएकोले सोही वमोजिम हुने बताए ।

मेलाको पर्दा पछाडिको खेलाडी को हुन् ?

नगर कार्यपालिकाले धरान १२ स्थित छिमेकी युवा समुहलाई मेलाको स्वीकृति दिएको थियो । छिमेकीले आफ्नो एम्बुलेन्स पुरानो भएकोले नयाँ खरीद गर्ने उद्देश्यले मेला लगाएको जनाएको छ । मेलाको स्वीकृति छिमेकीले पाएपनि भित्रिरुपमा एमाले र कांग्रेसका केही नेता र युवाहरु नै मेलाको मुख्य आयोजक हुन् । त्यसैले नगर कार्यपालिका एवं जनप्रतिनिधिहरुलाई मेलाको स्वीकृति दिन र सञ्चालनको वातावरण बनाउन तीब्र दबाब परेको थियो ।

एमाले पार्टी र युवा संघको चर्को दबाबमा कार्यपालिकाले मेलाको स्वीकृति दिएको थियो । कांग्रेसका पुर्वनगर सभापति किसोर राई र एमालेका नेता मिन सुब्बा मेला आयोजनाको मुख्य समन्वयकर्ता हुन् भने कांग्रेससम्बद्ध युवाहरु सन्तोष बिक, सम्पुर्ण ताम्रकार, एमाले सम्बद्ध युवाहरु रतन लिम्बुलगायत मेला आयोजनाको मुख्य पात्र हुन् । एमालेकै युवा नेता दिवस राई मेलाको पक्षमा छैनन् । उनको र सन्तोष बिकबीच मिलाप छैन । 

किन हुन्छ मेलामा झमेला ?

मेलामा करोडौंको आर्थिक चलखेल हुने भएकोले सबैको आँखा गडेको हुन्छ । मेला आयोजना गर्न राजनीतिक दलका संगठनहरु, सामाजिक संघसंस्थाहरु, युवा समुहहरु मात्र होइन, राजनीतिक दलका नेताहरु पनि लागिपर्छन् । यसको मुख्य कारण हो मेलाबाट हुने आर्थिक लाभ । नेताहरुले मेला आयोजनाकको लागि स्वीकृति गराउने वातावरण तयार गरेवापत लाखौं रुपैया लिन्छन् भने विभिन्न संघसंस्थाहरुले पनि मेला आयोजनाको दाबी गर्नबाट पछि हट्न बार्गेनिङ गर्छन् । उनीहरुले आयोजकबाट पहिल्यै ५, १० लाख हात पार्छन्, र मेलामा स्टल पनि पाउछन् । यसरी मेला आयोजनाको लागि आयोजकको ठुलो लगानी हुन्छ । यसपाली यो लगानी छिमेकीले गरेको छैन, भित्रिरुपमा मेला आयोजना गर्ने नेता, समुहले गरेको छ ।

मेलाको खेला त्यति मात्र होइन, आयोजकले गेट टिकटबाट दैनिक लाखौ उठाउछ । पार्किङ शुल्कबाट पनि मनग्ये आम्दानी हुन्छ । मेलामा रोटेपिङ कसले लगाउने भनेर पनि युवाहरुमा हानाथाप हुन्छ । आयोजकलाई निश्चित रकम तिरेर रोटेपिङ, झुला, नाउलगायत लगाउने ठेक्का अर्कोले पाउछ । उसले लगानी गरेको भन्दा कयौ गुणा पैसा कमाउछ । विभिन्न खेल तमासा, स्टलहरुमा पनि यसरी नै चलखेल हुन्छ । यसरी कमाएको पैसाले नेताहरुले धरानका युवाहरुलाई आफ्नो नियन्त्रणमा सधै राखिराखेको हुन्छ ।

हामीले ९५ लाख त बाडेरै सक्नु परेको थियो: श्रीसुब्बा

मेलाको विरोध गरिरहेका संघीय समाजवादी फोरमसम्बद्ध युवा नेता श्री सुब्बाले धरानमा पछिल्लो पटक आयोजना भएको मेला आयोजक मध्येका थिए । उनका अनुसार त्यतिबेला ९५ लाख जति त नेता, विभिन्न युवाहरुलाई मिलाउदा खर्च गरेर सकिएको थियो । तीन बर्ष रोकिएको मेलामा अहिले पनि त्यही खालको विकृति आएकोले विरोध गरेको उनले बताए ।

‘अहिले मेला लगाउने कांग्रेसका नेता दाईलाई १५ लाख दिनुपर्यो । टोटल ९५ लाख त्यसरी सकियो,’उनी भन्छन्,‘सिनियर राजनीति गर्ने दाईहरु सधै युवाहरुलाई जुधाएर नै कमाई खाने गर्नु राम्रो भएन । हामीलाई पैसा चाहिएको होइन, हामी लिदैनौ तर कसैले पनि पैसाको बार्गेनिङ नगरौ भनेको । स्वच्छढंगले, जुवा र मदिराविहिन साँस्कृतिक, मनोरञ्जनको मात्र मेला लगाउने हो भने हामी पनि ओके छौ । तर, पैसाको लेनदेन गरेर लगाएको मेला कसरी सस्तो हुन्छ, विकृति, विसंगति विहिन कसरी हुन्छ ?’