धरान : धरान १४ स्थित विजयपुरमा रहेको मठमन्दिरमा बर्षमा लाखौं पर्यटकहरु आउछन् । तर, उनीहरुले यहाँबाट लैजाने बिशेष कोसेली केही पनि छैन । यही महत्वपुर्ण धार्मिक पर्यटकीय स्थलको कोसेली उत्पादन गर्न वडा नं १४ ले तयारी थालेको छ ।

आउदो भदौ महिनादेखि विजयपुरमा अवस्थित सबै मन्दिरहरुमा प्रसाद र कोसेलीको रुपमा पेडा हुनेछ । यसलाई 'विजयपुरको पेडा' भनेर ब्राण्डिङ गरिनेछ । यो स्थानीयकै उत्पादन हुनेछ । वडा अध्यक्ष कृष्ण भट्टराईका अनुसार पेडा बनाउन आवश्यक पर्ने खुवा स्थानीयबासीले पालन गरेको गाइको दुध संकलन गरेर बनाइनेछ । यसले स्थानीयको आयआर्जन पनि हुनेछ भने पर्यटन प्रर्वद्धन पनि हुनेछ । ‘हामीलाई चाहिने दुध स्थानीयले गाइपालन गरेका छन्, त्यहीबाट लिन्छौं । नपुगेको अवस्थामा पानवारी र तरहराबाट लिन्छौं,’उनले भने,‘पेडा बनाउन सिकाउनको लागि बरमझियाबाट प्रशिक्षक आउने भइसकेको छ ।’

krishna-bhatrai

आउदो भदौंदेखि उत्पादन शुरु गर्न आवश्यक पर्ने ठुलो कराई वडाले किनिसकेको छ भने भट्टीको तयारी पनि भइरहेको छ । यसको लागि यही आर्थिक बर्षमा वडाले ५ लाख बजेट विनियोजन गरिदिएको उनले बताए । ‘यहाँ दर्शन गर्न आउने पर्यटकहरुले चिनोकोरुपमा कोसेली किनेर पनि लैजान्छन्, र धरानको पर्यटन प्रर्वद्धन पनि हुन्छ,’अध्यक्ष भटराईले भने ।

उनका अनुसार पेडा जुन मन्दिरमा बिक्री गरिने हो, बट्टामा त्यहाँको तस्बिर पनि हुनेछ । यसले धरानको कोसेलीको रुपमा मात्र नभएर पर्यटन प्रर्वद्धनमा टेवा पुग्ने उनले बताए । धरानको महत्वपुर्ण धार्मिक पर्यटकीयस्थल हो । यहाँ बुढासुब्बा, दन्तकाली, पिण्डेश्वर, पञ्चकन्याजस्ता महत्वपुर्ण धार्मिकस्थल छन् । यी मन्दिरहरुमा बर्षमा लाखौं भक्तजन एवं धार्मिक पर्यटकहरु आउछन् ।

pindewor2