इटहरी: इटहरी उपमहानगरपालिकाले आर्थिक बर्ष २०७६÷२०७७ का लागि १ अर्ब ८५ करोड ५० लाखको बजेट ल्याएको छ ।

इटहरी उपमहानगरको पाँचौ नगरसभामा मंगलबार उपप्रमुख लक्ष्मी गौतमले नीति,कार्यक्रम तथा बजेट प्रस्तुत गरेकी हुन् । बजेटमा भौतिक पूर्वाधार विकास, स्वास्थ्य, शिक्षा, कृषि, उद्योग, पर्यटन, खेलकुद र सामाजिक विकासलाई मुख्य प्राथमिकता राखिएको छ । उक्त बजेटमा चालु तर्फ ७९ करोड ४ लाख ५५ हजार, पूँजीगततर्फ १ अर्ब ५ करोड ७५ लाख ५४ हजार र वित्तीय ब्यवस्थातर्फ ७० लाख रहने व्यवस्था गरिएको छ । यस्तै, वडास्तरीय र नगरस्तरीय सडक निर्माण गर्नका लागि प्राथमिकतामा राखिएको छ ।

नगर यातायात गुरुयोजना अनुरुप सडक निर्माण गरिने इटहरी उपमहानगरले जनाएको छ । सडकको गुणस्तर मापनको ल्याव स्थापना गरिने बजेटमा उल्लेख छ । निजी क्षेत्रको समन्वयमा आधुनिक कृषि बजार स्थापना गरिने भएको छ । कृषि तथा पशुपंक्षी विकासका लागि २ करोड रुपैया बिनियोजन गरिएको छ । घरेलु औद्योगिक ग्राम स्थापनाका लागि ५० लाख विनियोजन गरिएको छ । इटहरी ९ मा रहेको जनता क्रिकेट पार्क निर्माण गर्नका लागि ५० लाख रकम बिनियोजन गरिएको छ ।

इटहरी ५ मा रहेको काब्यवाटिका सिटि पार्क निर्माण गर्नका लागि पहल गरिनेछ । त्यस्तै, इटहरी अस्पतालमा २४ सै घण्टा बिरामीका लागि सेवा प्रदान गर्ने व्यवस्था मिलाईने बताइएको छ । सुत्केरी महिलाहरुका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराईनेछ । शिक्षा क्षेत्रको विकासमा १ करोड ४५ लाख विनियोजन गरिएको छ । खोला तथा डे«न सफाई कार्यक्रमका लागि ५० लाख छुट्याइएको छ । इटहरीको मुख्य चौक आसपास सार्वजनिक शौचालय निर्माण गर्न ७२ लाख रुपैँया छुटयाइएको छ । खेलमैदान निर्माण र खेदकुद विकासका लागि १ करोड १० लाख बजेट विनियोजन गरिएको छ ।

हिंसा पीडित महिलाका लागि सुरक्षित आवास गृह आगामी वर्षमा निर्माण गरिने भएको छ । सवै वडामा हिंसा आत्मरक्षा तालिम संचालन गरि प्रतिरक्षा समूह गठन गरिने भएको छ । खेलमैदान निर्माण र खेदकुद विकासका लागि १ करोड १० लाख विनियोजन गरिएको छ । वहुजातीय ग्राम निर्माण सुरु गरि तीन बर्षमा सम्पन्न गरिने भएको छ । भ्रष्टाचारमा शून्य सहनशिलताको नीति लिइएको छ । मेयरको संयोजकत्वमा सुशासन प्रर्वधन तथा उपमेयरको संयोजकत्वमा सुशासन अनुगमन समिति गठन गरिने छ ।