धरान : नेपालमा उत्पादन भएको हरियो तरकारीले बजार नपाएर किसानहरु पीडित छन् । उत्पानले भाउ नपाएपछि बेला बेला तरकारी सडकमा फालेर उनीहरु विरोध जनाउछन् ।

कृषिको यो दुःखद पाटो मात्र छैन । नेपालको गुणस्तरीय कृषि उत्पादनको बजार तेस्रो मुलुक पनि बन्नसक्ने सम्भावना छ । यसको पुष्टि प्रदेश १ को उदयपुर जिल्लास्थित बेलका नगरपालिकाले गरेको छ । अहिले बेलका नगरपालिकामा उत्पादन भएको अर्गानिक तिते करेला खाडी मुलुक कतारमा निर्यात शुरु भएको छ । पहिलो पटक ५० कार्टुन करेला कतार निर्यात भएको थियो । दोस्रो पटक ९० कार्टुन तिते करेला कतार पठाउने तयारी छ ।

नेपालको गुणस्तरीय एवं अर्गानिक हरियो तरकारीलाई ब्लाक डायमण्ड अर्गानिक प्रालिले कतार पठाउन थालेको हो । एक बर्षदेखि नेपालको अर्गानिक तरकारीलाई कतार पठाइरहेको प्रालिले यो बर्षदेखि बेलकामा उत्पादन भएको तरकारीलाई पठाउन थालेको छ । प्रालिले नेपाल सरकारको रोहबरमा कतार सरकारसँग अर्गानिक तरकारी निर्यात गर्ने सम्झौता नै गरेको छ । सोही अनुसार हाल दैनिक ३ टन तरकारी कतार पठाइरहेको प्रालिका निर्देशक नारायण कार्कीले जानकारी दिए । ‘कतार पठाउन थालेको एक बर्ष भयो, माग धेरै छ, नेपालमा उत्पादन कम छ,’उनले भने,‘बिषादीरहित अर्गानिक तरकारी पठाइरहेका छौं, बेलकाबाट हामीले दोस्रो खेप पठाउदैछौं ।’ कम्पनीका प्रतिनिधि विशन विष्टका अनुसार प्रालिले बेलकाको ६ बिगाह जग्गामा तरकारी खेती लगाएको छ ।

karelaako

बेलका उदयपुरको पुर्वी भेगको सुनसरीसँग सिमाना जोडिएको नगरपालिका हो । यहाँ अहिले प्रालिले आफैले अर्गानिक तरकारी उत्पादन गरिरहेको छ । किसानले उत्पादन गरेको तरकारी खरीद गरेर प्रालिले कतार पठाउन बेलका नगरपालिका, कृषि समुह र प्रालिबीचमा त्रिपक्षीय सम्झौता पनि भएको छ । सम्झौता अनुसार बेलका नगरपालिकाको वडा २ र ३ मा कृषि समुहलाई प्रालिले प्राविधि, बिउविजन, सिचाईलगायत सबै कुरामा लगानी गरिदिन्छ । किसानले उत्पादन गरेको तरकारी प्रालिले फिक्स(निश्चित) मुल्यमा खरीद गर्ने सम्झौता छ । बजारमा भाउ घटबड भएपनि किसानलाई कुनै असर नगर्ने गरी सम्झौता गरिएको बेलकाका प्रमुख दुर्गाबहादुर थापा(स्वास्ति)ले बताए । ‘हामीले एक बर्षको लागि त्रिपक्षीय सम्झौता गरेका छौं, किसानको उत्पादनको रेट फिक्स तोकेका छौं,’प्रमुख थापाले भने,‘प्रालिले प्रविधि दिन्छ । ऋण पनि दिन्छ, तालिम दिलाउछ, र पछि उसको लगानी पनि कटाएर किसानलाई मुल्य दिन्छ ।’

प्रमुख थापाका अनुसार यो बर्ष नगरपालिकाले उत्पादन आधार बर्ष मनाएको छ । जसअन्र्तगत किसानहरुको क्षमता अभिवृद्धि गर्न तालिम दिने, अर्गानिक उत्पादनमा बढाउने र बजारीकरण गर्न नगरपालिकाले समन्वय गरिरहेको छ । उनका अनुसार ५ सय हेक्टरमा चक्लाबन्दी गरेर मकै उत्पादन गरिएको छ । उक्त मकै पाल्पाको श्रीनगर कम्पनीले खरीद गर्ने सम्झौता भएको प्रमुख थापाले बताए । ‘बालुवा भएको ठाउँलाई माटो बनाउने प्रविधि अपनाएर जनतालाई कृषि उत्पादनमा लाग्न प्रेरित गरेका छौं,’उनले भने,‘पहिला हरिण,बदेल मागरेर बेच्ने, रक्सी पार्ने र अफिम खेती पनि हुने ठाउँ हो, अहिले तरकारी खेतीमा लागेका छन् ।’

gulf-times