धरान: आज बुधबार धरान उपमहानगरपालिकाका स्वर्गीय मेयर तारा सुब्बाको प्रथम स्मृति दिवस मनाउदै गर्दा वक्ताहरुले उनको राजनैतिक, सांगठनिक व्यक्तित्वबारे चर्चा गरे । उनको निधनपछि धरान नेतृत्वविहिन भएर मुल्य चुकाउनुपरेको पनि स्वयम कार्यवाहक मेयर मञ्जु भण्डारी सुवेदीको अभिव्यक्तिले प्रष्ट पार्छ ।

स्मृति दिवसमा बोल्ने वक्ताहरुमा एक जना स्वर्गीय मेयर तारा सुब्बाकै परिवारका सदस्य पनि थिए, घनेन्द्र सुब्बा । उनी स्वर्गीय मेयर तारा सुब्बाका दाई हुन् । उनले तारा सुब्बा जन्मिएदेखि नै आफ्नो प्रिय भाई भएको बताउदै भाईसँग भएको केही अन्तरंग कुरा पनि खोले । घरभित्र कमै बोल्ने गरेको भाई तारालाई बाहिर सार्वजनिक समारोह, कार्यक्रममा मात्र बोलेर नहुने र घरभित्रको कुरामा पनि बोल्नुपर्छ भनेर आफुले भन्ने गरेको दाई घनेन्द्रले बुधबार स्मरण गरे । ‘जन्म भएदेखि नै तारा मेरो प्रिय भाई हो । उ कम बोल्ने स्वभावको थियो,म घरभित्रको कुरामा पनि बोल्नुपर्छ, पब्लिक स्पिकर भएर मात्र हुन्न भन्थे,’उनले भने ।

IMG_9927

मृगौला प्रत्यारोपण गरेर आएपछि लामो समय बाँच्ने हो भने सक्रिय राजनीति छोडेर स्वास्थ्यप्रति ध्यान दिन आग्रह गरे पनि भाई(तारा सुब्बा)ले नमानेको उनले खुलासासमेत गरे । साथै उनले भाई हिम्मतिलो व्यक्ति भएको पनि बताए । ‘मैले भने कि जीउने हो भने स्वास्थ्यप्रति ध्यान दिनुपर्छ । पोलिटिक्स गर्ने हो भने त्यो मृत्यु हो किनभने धेरै हिड्नुपर्छ,दौडधुप गर्नुपर्छ । धेरै मान्छेसँग भेट्नुपर्छ, बोल्नुपर्छ,’भाईसँगको वार्तालाप सम्झदै दाई घनेन्द्र सुब्बाले भने,‘पोलिटिक्स कि हेल्थ भनेर सोधे, बोलेन । यति मात्र भन्यो, एक पटक नगर र जनताको सेवा गर्छु ।’

आर्थिकरुपमा राम्रो अवस्था नभएपनि सबैको सहयोगबाट मृगौला प्रत्यारोपण भएको उनले बताए । भाईमा सर्मपणको भावना र हिम्मत भएकोले पार्टीले टिकट दिएको र जनताले मेयरमा जिताएको धारणा राखे । ‘मान्छे जन्मेपछि मर्छ भन्ने थाह छ, तर यति छिटो जान्छ भन्ने लागेको थिएन । भौतिक शरीर नरहे पनि सर्वसाधारण जनताको बीचमा रहेको पाएँ,’उनले भने ।

तस्बिर क्याप्सन: स्वर्गीय मेयर तारा सुब्बाकी श्रीमति र वक्ताकोरुपमा स्वर्गीय मेयरका दाई घनेन्द्र सुब्बा ।

IMG_9926