धरान : नेपाली कांग्रेस धरान उपमहानगर समितिले शुक्रबार नेपाल खानेपानी संस्थानको धरान शाखालाई ज्ञापनपत्र बुझाएको छ ।

नेपाली कांग्रेस धरानका नगर सभापति तिलक राईले खानेपानी संस्थानका प्रमुख रामकुमार श्रेष्ठलाई ज्ञापनपत्र बुझाएको हो । नेपाली कांग्रेसले अघि सारेको मागहरु पूरा भए/नभएको बुझेर मात्रै संस्थानलाई बोर्डमा हस्तान्तरण गर्ने प्रकृयामा संलग्न हुन आग्रह गरेको छ । अन्यथा संस्थान विरुद्ध पनि अप्रिय कदम चाल्न बाध्य हुने नेपाली कांग्रेसले जनाएको छ ।

खानेपानीको दिगो व्यवस्थापनको सुनिश्चितता नभएकै अवस्थामा धरान उपमहानगरपालिकाले अधुरो र अप्रमाणित खानेपानी आयोजनालाई जिम्मा लिन र संस्थानलाई समेत बोर्डमा गाभ्न खोजेकोले भन्दै नेपाली कांग्रेसले १० सुत्रीय माग राख्दै उक्त मागको सम्बोधन भएपछि मात्र आवश्यक प्रकृया बढाउन माग गरेको छ । अन्यथा नेपाली कांग्रेसले सशक्त आन्दोलन गर्ने चेतावनी सहित धरान उपमहानगरपालिकालाई ज्ञापनपत्र बुझाएको ज्ञापनपत्रमा भनिएको छ । करिब ५–६ अर्बको सम्पत्ति भएको नेपाल खानेपानी संस्थानको धरान शाखाको सम्पत्ति तथा दायित्वको हचुवाको भरमा मूल्यांकन गरी ९१ करोड मात्र निर्धारण गरेको र कर्मचारी समायोजनका लागि आवश्यक विनियमावली समेत हालसम्म स्विकृत नगरेको ज्ञापनपत्रमा उल्लेख छ ।

भूमिगत श्रोतबाट १५.२२ (एमएलडी) दैनिक खानेपानी उत्पादन तथा ७ मिटरको प्रेसरमा दैनिक १६ देखि २४ घण्टा खानेपानी आपूर्ति गर्ने आयोजनाको लक्ष्य भएतापनि अनुगमन समितिका अनुसार हाल वर्षाका समयमा समेत दैनिक करिब ८० लाख लिटर मात्र खानेपानी उत्पादन हुन सकेको र संस्थानले समेत यसैसमय दैनिक २० देखि २५ लाख लिटर आयोजनासँग माग गरेको पाइएको अवस्थाले आयोजना र संस्थान दुवैले वर्षाको समयमा समेत धरानबासीलाई पर्याप्त खानेपानी आपूर्ति गर्न नसकिरहेको पुष्टि भएको कांग्रेसले जनाएको छ ।

एकिकृत शहरी विकास कार्यक्रम अन्तर्गत एशियाली विकास बैंकको ३५ प्रतिशत ऋण तथा २६ प्रतिशत अनुदान, नेपाल सरकारको २४ प्रतिशत अनुदान र धरान नगरपालिकाको १५ प्रतिशत लगानीमा सन् २०१७ मा आयोजनाको पूर्वाधार निर्माणको कार्य सम्पन्न गरी खानेपानी उत्पादन र वितरण गर्ने २२।०७ मिलियन यु।एस। डलर अर्थात् नेपाली करिब २ अर्ब १६ करोड ४ लाख ९विनिमय दरः १ डलर बराबर ९८० लागत अनुमान गरिएको भुमिगत पानीको स्रोतमा आधारित परियोजना धरानमा निर्माणाधीन अवस्थामा रहेको छ ।