धरान: सर्वसाधारणहरुले सहकारीमा वचत गरेको करोडौंको रकम अन्यत्र लगानी गरी संस्थालाई डुबाएर फरार भएका सल्लेबरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कष्ण बिकलाई प्रहरील पक्राउ गरेको छ ।

एक महिनाअघिदेखि नै संस्थासँग सम्पर्कविहिन भएर फरार बनेका बिकलाई प्रहरीले बुटवलबाट पक्राउ गरेको हो । बुटवलमा लुकीछिपी बसेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । बुटवलमा पक्राउ परेका बिकलाई धरान ल्याइएको छ । प्रहरीले आज दिउँसो पत्रकार सम्मेलन गरेर बिकलाई सार्वजनिक गर्ने तयारी गरेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

बिक गत असार २३ गतेदेखि सम्पर्कविहिन भएका थिए । उनी सम्पर्कविहिन भएपछि सहकारीले धरान उपमहानगरपालिकाअन्र्तगतको सहकारी विकास समितिमा उपाध्यक्षसहितले निवेदन दिएका थिए । बिकले संस्थाको ५ करोड भन्दा बढी रकम आफ्नो सुन पसलमा लगानी गरेको खुलेको थियो । उनले आफ्नो छोरालाई सहकारीको प्रबन्धक बनाएर हालीमुहाली गरेको पाइएको थियो । प्रहरीले यसअघि नै सहकारीका प्रबन्धक तथा अध्यक्षका छोरा मोहन दर्नाल र लेखापाल कमलादेवी विकलाई पनि पत्राउ गरिसकेको थियो ।

सहकारीको आर्थिक हिनाहिनाको प्रकरणमा कांग्रेस नेतासमेत रहेका पुर्वमन्त्री एवं सांसद मिन विश्वकर्मा पनि विवादमा तानिएका छन् । बिकको करिब डेढ करोडको घर असार २७ गते सांसद विश्वकर्माको सालीको नाममा नामसारी गरिएको पाइएको थियो । उनको साली अमेरिकामा नै छन् । सांसद विश्वकर्मा र सहकारीका अध्यक्ष बिकको धेरै क्षेत्रमा संयुक्त लगानीसमेत रहेको जानकारहरु बताउँछन् ।