काठमाण्डौं : चितवन जिल्ला अदालतले रवी लामिछानेसहित ३ जनालाई अनुसन्धानका लागि भन्दै ५ दिन हिरासतमा राख्न म्याद थप गरेको छ ।

न्यायाधीश विनोदकुमार शर्माले हिजैबाट लागु हुनेगरी ५ दिन हिरासतमा राख्न म्याद थप गर्नुभएको हो । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या सम्बन्धी मुद्दामा प्रारम्भिक सुनुवाई गर्दै शर्माको इजलासले रवीसहित ३ जनालाई अनुसन्धानको लागि म्याद थपिएको हो । लामिछानेसहित पत्रकार युवराज कँडेल र ओखलढुंगाकी अस्मिता कार्कीलाई प्रहरीले हिजो काठमाडौंबाट पक्राउ गरेको हो । तीनैजना प्रहरी हिरासतमा छन् ।

चितवन र काठमाडौं प्रहरी परिसर टोलीले कार्यक्रम प्रस्तोता लामिछाने र कँडेललाई बिहीबार साँझ न्युज २४ टेलिभिजन कार्यालय परिषरबाटै पक्राउ गरेको थियो भने कार्कीलाई दिउँसो नियन्त्रणमा लिएको थियो । लामिछाने र कँडेललाई अर्का पत्रकार शालिकराम पुडासैनीको आत्महत्यामा दुरुत्साहन गरेको अभियोगमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीको दावी छ ।