इटहरी: मोरङ सुन्दरहरैँचाका ६१ बर्षीय ओमनारायण चौधरी शुक्रबार अपरान्ह १ नं. प्रदेश ट्राफिक प्रहरी कार्यालय अगाडि बैशाखी टेकेर निराश मुद्रामा देखिए । करीब ६ महिना अगाडिबाट सिटी सफारी चलाउन सुरु गरेका चौधरी अहिले एक खुट्टाले नै सवारी चलाउँदै आएका छन् ।

उनको बाँया खुट्टा क्यान्सर भएका कारण २०५४ मै काटिएको हो । ‘५ जना छोराछोरी छन्, आँफूले काम नगरी पेट पालिदैँन,’उनले गहकिदैँ भने, ‘आज प्यासेन्जर लिएर आउँदैथिएँ, ट्राफिक प्रहरीले रोकेर सफारी भित्र हुल्न भने ।’ चौधरीले सिटी सफारीको लाईसेन्स नभएका कारण सफारी चलाउँन नपाएको गुनासो गरे । ‘एक खुट्टाले नै पनि काम गरेर खाएको हो,’ उनले भने, ‘सरकारले लाइसेन्स नखुलाउँदा दिनहुँ जस्तो प्रहरीसँग भागेर हिड्नुपर्ने अवस्था छ ।’

दिनको दश, बीस रुपैँया गरेर जोडेको कमाई ट्राफिक प्रहरीलाई नै बुझाउनु पर्नेमा उनको गुनासो रहेको थियो । ‘हामीजस्तो मान्छेलाई निकै समस्या छ, सरकारले हत्तपत्त लाइसेन्स खुलाउँदैन’ चौधरीले भने । चौधरी एक प्रतिनिधि पात्र मात्र हुन् । चौधरी जस्तै भक्त राईले सफारी चलाउन थालेको करीब तीन महिना बढी भयो । उनले पनि लाइसेन्स नभएकै कारण ट्राफिक प्रहरीले सवारी पक्रेको र बिल काटेमा लैजान पाउने बताए । उनले भने, ‘प्रहरीले पक्राउ गरेको छ, मैले पैसा तिरेँ भने सवारी लान पाइन्छ ।’

अहिले इटहरीमा दिनमा तीन दर्जन भन्दा बढी सिटी सवारी पक्राउ गरी ट्राफिक प्रहरीमै सवारी लैजाने गरेको सफारी चालकहरुको गुनासो रहेको छ । ‘ट्राफिकले जहिल्यै ल्याएर थन्काइदिन्छ,’उनले आक्रोश पोख्दै भने,‘पैसा तिरेपछि मात्र लैजान पाइन्छ हो ।’ इटहरी ५ का कृष्ण माझीका अनुसार सफारी चालकहरुका लागि लाइसेन्स नै नखुल्ने र लाइसेन्स खुलेपनि थाहै नहुने गरेको छ । ‘अहिलेसम्म सफारीको तीन पटक मात्रै लाइसेन्स खुलेको छ,’ उनले भने, ‘लाइसेन्स खुलेपनि थाहै हुँदैन, यसो हुँदा हामी जहिल्यै प्रहरीबाट भाग्नुपर्ने अवस्था छ ।’ उनका अनुसार आँफूले दुई बर्ष अगाडि नै सफारीको लाइसेन्स झिकेको भएपनि ट्राफिक प्रहरीले अनेक बहानामा दुःख दिने गरेको छ । ‘मेरो लाइसेन्स छ, तर लाइसेन्स चेक गरेपनि अन्य कागजपत्र खोज्नछन्,’उनले भने ।

यता, ट्राफिक प्रहरी कार्यालय प्रदेश नंं. १ का प्रमुख प्रहरी उपरीक्षक भीम बहादुर दाहालले सफारी हाईवे सडकमा चलाउने साधन नभएको र मुख्य राजमार्ग क्षेत्रमा मात्र चेक गरिएको बताए । उनले भने,‘हामीले उनीहरुलाई समातेर पैसा काट्ने रहर हैन, सडक अनुशासनको कुरा मात्र सिकाएका हौँ ।’ उनका अनुसार अनावश्यक र नियतबस दुःख दिन खोजिएको नभई आवश्यक कागजात र रुटको कुरालाई ध्यान दिनुपर्ने र लागु गर्नुपर्नेमा जोडदिए । ‘हाम्रो उदेश्य जरिवाना काट्ने हैन,’ उनले भने,‘राजश्व घटोस् तर, सडक अनुशासन त कायम हुनुपर्यो नि ।’

ट्राफिक प्रहरीले काटेको जरिवाना स्वयम्ले नराख्ने र त्यो राजश्वमा जम्मा हुने समेत उनले सुझाए । ‘आफ्नो सजिलोको लागि सवारी चालक र प्रहरीले घुस लिने दिने भएको भए दुवैलाई कारबाही हुन्छ, पैसा मात्र मागेर बिल नदिने हुँदा तुरुन्त खबर गर्नु,’एसपी दाहालले भने ।