काठमाण्डौं: पत्रकार शालिकराम पुडासैनी प्रकरणमा मृतक पुडासैनीकी पत्नीले रवि लामिछानेविरुद्ध किटानी जाहेरी दिएकी छन् ।

पुडासैनीकी पत्नी सम्झनाले आज आइतबार लामिछाने विरुद्ध महानगरीय प्रहरी परिसरमा किटानी जाहेरी दिएकी हुन् । सम्झनाले लामिछानेसहित युवराज कँडेल र स्टाफ नर्स अस्मिता कार्कीविरुद्ध पनि किटानी जाहेरी दिएकी हुन् । प्रहरीले पुडासैनी मृत्यु प्रकरणमा लामिछानेसँगै कँडेल र स्टाफ नर्स कार्कीलाई पनि पक्राउ गरिसकेको थियो ।

पुडासैनीको १३ दिनको काजक्रिया शनिवार सकिएको थियो । काजक्रिया सकिएपछि सम्झनाले आइतवार प्रहरीमा उजुरी दिएकी हुन् । पुडासैनी पत्नी सम्झनाले किटानी जाहेरीमा आफ्ना श्रीमानलाई लामिछाने, कँडेल र कार्कीले हत्याको बाटो रोज्न बाध्य पारेको दाबी गरेकी छिन् । उनले तीनै जनालाई मुलुकी अपराध संहिताको दुरुत्साहनअन्तर्गत कारबाही गर्न माग गरेकी छन् ।

दुई साताअघि पुडासैनीले चितवनको होटल कंगारुमा आत्महत्या गरेका थिए । पुडासैनीले आत्महत्या गर्नुअघि आफैले खिचेको मोवाइल भिडियोमा रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीको कारण आफु आत्महत्या गर्न बाध्य भएको उल्लेख गरेका थिए । उक्त भिडियो बाहिरिएपछि प्रहरीले आत्महत्या दुरुत्साहन गरेको अभियानमा लामिछानेसहित ३ जनालाई नै पक्राउ गरेर चितवन पुर्याएको थियो । चितवनमा रवि समर्थकहरुले विरोधमा प्रर्दशन गरेका थिए । जिल्ला अदालतले ५ दिन अनुसन्धानमा राख्न अनुमति दिएको थियो ।