चितवन: पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा आज चितवन जिल्ला प्रहरी कार्यालयले चर्चित सञ्चारकर्मी तथा कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित ३ जनामाथि अनुसन्धान पुरा गरेको छ ।

प्रहरीले लामिछानेसहित ३ जनामाथि गरेको अनुसन्धानको रायसहितको प्रतिवेदन सरकारी वकिलको कार्यालयमा पेश गरेको छ । अदालतले प्रहरीलाई दिएको म्याद आइतबार नै सकिँदैछ । दश दिन हिरासतमा राखेर अनुसन्धान गरेको प्रहरीले उनीहरुलाई आत्महत्यामा दुरुत्साहन गरेको अभियोग लगाउन राय पेश गरेको बताइएको छ । यो घटनामा जिल्ला प्रहरी कार्यालय र केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले पनि अनुसन्धान गरेको छ । उनीहरुलाई मुलुकी अपराध संहिताको दफा १८५ (आत्महत्यालाई दुरुत्साहन गरेको) अभियोगमा मुद्दा चलाउन राय दिएको विभिन्न अनलाइनपोर्टलहरुमा समाचार उल्लेख छ ।

प्रहरीले अनुसन्धान सकेर रायसहितको प्रतिवेदन बुझाइसकेकाले अब अनुसन्धानका लागि म्याद थप हुने छैन । अब जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा रवि लामिछानेसहित ३ जनाविरुद्ध आत्महत्यामा दुरुत्साहन गरेको अभियोगमा मुद्दा दायर गर्न भने सक्नेछ । सरकारी वकिल कार्यालयले अभियोग दायर गरेमा प्रतिवादी लामिछानेसहित ३ जनालाई साधारण तारेखमा, धरौटीमा रिहा गर्न वा पूर्पक्षका लागि थुनामा पठाउन माग गर्न सक्छ । त्यसपछि उक्त मागको पक्ष र विपक्षमा थुनछेक बहस हुनेछ । त्यसपछि, जिल्ला अदालतले साधारण तारेख, धरौटी वा पुर्पक्षका लागि थुनामा पठाउनेमध्ये कुनै एक आदेश दिन सक्नेछ ।

पत्रकार पुडासैनीको गत साउन २० गते चितवनको कंगारु होटलमा आत्महत्या गरेको अवस्थामा शव भेटिएको थियो । पुडासैनीको मोवाइलमा रेकर्ड भएको भिडियोमा न्युज २४ टेलिभिजनको सीधा कुरा जनतासँग कार्यक्रमका प्रस्तोता लामिछाने, कार्यक्रम उत्पादक युवराज कँडेल र नर्स अस्मिता कार्कीले आत्महत्या गर्न बाध्य पारेको उल्लेख थियो । सोही भिडियोको आधारमा प्रहरीले अनुसन्धानको लागि काठमाण्डौंबाट तीनै जनालाई पक्राउ गरेको थियो । प्रहरीले अनुसन्धानकोलागि पहिलो पटक ५ दिन र दोस्रो पटक पुनः ५ दिनको म्याद थप गरेको थियो ।