लन्डन: बेलायतमा बर्खा लागेपछि कार्यक्रमहरूको चाप बढ्छ । सप्ताहन्तको समय असारभन्दा कम हुँदैन । शनिबार पनि त्यस्तै भयो । दर्जनौँ कार्यक्रमहरूमा मानिसहरू बाडिँदै थिए । यी सबैका बावजुद सिर्जनशील मनहरू हाइवेकम्बमा भेला भइरहेका थिए ।

नेपाली प्रतिभा प्रतिष्ठान यूकेले आफ्नो १२ औँ श्रङ्खलाअन्तर्गत कवि तथा गीतकार जानुका काम्वाङलाई मञ्चमा उतारेको थियो । सिलाम साक्मालाई छातीमा टाँसेर श्रोतासामु झुल्किएकी स्रष्टालाई उद्घोषिका एवम् कवि अञ्जु अञ्जलीले डाँकिन् ।
‘हौ कुङ्बा !
त्यो एकान्त पहाड
फालेलुङलाई साक्षी राखेर
फर्कि आउने वाचा गर्दै
पारि तरेका पूर्खाहरू पनि
फर्केनन् भन्छन् नि?’

उनले ‘हौ कुङ्बा’, ‘तिम्रो कसम कुङ्बा ठूली’, ‘फर्किआएन परदेशी’, ‘युद्ध घोषणा’, ‘बूढो बाजे र भकारी’ गरी सात थान कविताहरू सुनाइन् । ताप्लेजुङको तम्मरखोला थुम इखाबुमा जन्मिएकी काम्वाङले दोस्रो चरणमा एघार वटा गीतहरू सुनाइन् । उनको ‘जानु काम्वाङका गीतहरू गीति कृति २०७६ मा सार्वजनिक पनि भएको छ । बुहविधामा कलम चलाउने स्रष्टा भनेर स्थापित भएकी काम्वाङले तेस्रो चरणमा आठ वटा गजल र मुक्तकहरू वाचन गरिन् । उनका ‘शिविरमा ईश्वर’, ‘अनुभव’ कविता सङ्ग्ह, ‘नउघ्रिएको जून’ कथा सङ्ग्रह, ‘जानू’ गीति सङ्ग्रह प्रकाशित भएका छन् । उनका केही गीतहरू चर्चित गायक गायिकाहरूका स्वरमा रेकर्डेड पनि भएका छन् ।

वि.सं. २०५२ मा हङकङ पुगेकी उनले त्यहाँ रहँदा पनि साहित्यिक गतिविधिमा सहभागी भइरहिन् । प्रारम्भमा कविता, गीतबाट लेख्न सुरु गरेकी काम्वाङले नियात्रा, कथा, अखबारी लेखनमा पनि हात हालिन् । १२ वर्ष अघि सपरिवार बेलायत छिरेकी उनले लिम्बु समुदायको सँस्कृतिमा आधारित भएर एक उपन्यास पनि तयार पार्दै गरेको खुलासा गरिन् । मौलिक जातीय सँस्कृतिप्रति आफू सचेत रहेको प्रष्ट पार्ने क्रममा उनले श्रङ्खलामा विनायो र मुर्चुङ्गा बाजा पनि बजाएर मन्त्रमुग्ध पारिन् । उनका सिर्जनामाथि टिप्पणी गर्दै कार्यक्रमका विशिष्ट अतिथि डा. रुपक श्रेष्ठले स्रष्टा काम्वाङका रचनाहरू निखारिँदै गएको बताए । प्रेमिल अभिव्यक्तिमा अब्बल रहेकी उनका कविता र कथाहरूमा आञ्चलिक विम्बको स्वाद भेटिने प्रतिक्रिया दिए ।

यसअघि, गीतकार लिम्बुको नयाँ कृति ‘आँसुको लय’ समेत डा. श्रेष्ठले विमोचन गरेका थिए । त्यसैगरी, प्रतिष्ठानले साहित्यमा निरन्तर कलम चलाएको भन्दै काम्वाङलाई अभिव्यक्ति श्रङ्खला सम्मानले अभिनन्दित गरेको थियो । सन् २००८ मा स्थापना भएको प्रतिष्ठानले हालसम्म अभिव्यक्ति श्रङ्खलामार्फत् चोक गुरूङ, दयाकृष्ण राई, टङ्क वनेम, किशोर गुरूङ, अञ्जु अञ्जली, नोर्देन तेन्जिङ भुटिया, शशी थापा सुब्बा, रक्ष राई, निर्मला परिवेश राई, डा. रूपक श्रेष्ठ र गणेश राईलाई मञ्चमा उतारिसकेको अध्यक्ष दीपा लिम्बु राईले जानकारी दिइन् ।

सचिव नरेश नाति र सहसचिव अञ्जु अञ्जलीले सञ्चालन गरेको श्रङ्खलामा सेमन्त राईले बाँसुरीका धून र मुक्तक, नानु राना, अमित थेवे, लाहाङ चेम्जोङले कविता, टङ्क राईले गजल सुनाएका थिए । यसैगरी, गायक तारा लक्सम, सङ्गीतकार बीसी राईले पनि गीतमार्फत मनोरञ्जन दिएका थिए । श्रङ्खला सुरु हुनुअघि उपाध्यक्ष गणेश राईले सबैलाई मन्तव्यद्वारा स्वागत गरेका थिए । कार्यक्रममा समाजसेवी अवकाशप्राप्त मेजर भवानी पङ्धाक, सञ्चारकर्मी विश्वराज सामेखाम, ताप्लेजुङका समाजका अध्यक्ष बुद्धिमान दर्नाल, अक्सफोर्ड नेपाली समाजका अध्यक्ष पुष्पा राई, लिम्बुवान नागरिक समाजका महासचिव लाहाङ चेम्जोङ, याक्थुङ माङ्गेना चुम्लुङका अध्यक्ष कमला लिम्बु, किरात राई यायोक्खाका उपाध्यक्ष प्रेम राई, किरात राई कलाकार सङ्घका उपाध्यक्ष निर्मला राई मादेन लगायतको उपस्थिति थियो ।