इटहरी : बाहिर पानी परिरहेको, भित्र भने कवि साहित्यकारहरु कवितामा रमाईरहेका । पानी जोड जोडले परिरहँदा कविहरु पनि जोडले कविता सुनाईरहेका थिए । यो दृष्य हो इटहरी २ शान्तिगरको । शनिबार यहाँ आयोजना गरिएको खुल्ला कविता प्रतियोगितामा पानी, झरी नभनी साहित्यकारहरु बाक्लो मात्रामा उपस्थित भएका थिए ।

शान्तिनगरमा आयोजना गरिएको खुल्ला कविता प्रतियोगितामा इटहरीका योगेन्द्र पराजुली प्रथम भए । शान्तिनगर क्रियटिभ क्लबले आयोजना गरेको प्रतियोगितामा पराजुलीको अन्त्य शीर्षकको कविता प्रथम भएको हो ।  त्यस्तै, मोरङकी सरस्वती न्यौपानेको जुन जोगी आए नि कानै चिरेको शीर्षको कविता द्धितीय भयो भने धरान बस्दै आएका प्रदीप योङहाङको सिलाउन त सिकाउनु हुन्छ नि शीर्षकको कविता तृतीय भयो । उनीहरुले क्रमश : ५,१५१, ३,१३१ र २,१२१ सहित प्रमाणपत्र हात पारेका थिए । विभिन्न ठाउँबाट १४ जना कविहरुले कविता सुनाएका थिए । कविद्धय सन्तोष थेवे र विनय सरगम निर्णायक रहेका थिए । स्थानीय सक्रिय युवा शान्तिराम तिवारीको संयोजकत्वमा सम्पन्न भएको कार्यक्रममा दीपेन्द्र घिमिरे, बम बहादुर न्यौपाने, गंगाकुमारी गुरुङ, नरबहादुर मोक्तान लगायतले शुभकामना मंतब्य राखेका थिए । कवि सुदीप पाख्रीनको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम संस्थाका अध्यक्ष इश्वर पौडेलको सभाध्यक्षमा सम्पन्न भएको थियो ।