इटहरी : इटहरीमा रहेर साहित्य साधनमा क्रियाशिल रहेकी कथाकार रीता ताम्राकारको नयाँ कथासंग्रह ‘अनाम परिधि’ इटहरीमा शनिबार लोकार्पण भएको छ ।

इटहरीको कोशी कलेजमा साहित्य सञ्चार प्रतिष्ठान इटहरीले शनिबार लोकार्पण कार्यक्रमको आयोजना गरेको थियो । चर्चित कवि कुन्ता शर्मा, कवि बद्री भिखारी, कवि विवश पोखरेल, कवि मनु मन्जिल, कथाकार शरण राई र स्वयं कथाकार ताम्राकारले कृतिको लोकार्पण गरे । डा. रामजी तिम्सिनाले ताम्राकारको कथाकृतिको बारेमा चर्चा गरेका थिए । कथाकार ताम्राकारको कथा लेखन सुन्दर भएको बताउँदै उनले कथाकारको पहिलोकृति ‘तुषारापात’ पछि आएका सबै कृतिहरूमा ताम्राकारले लेखन क्षेत्रमा फड्को मारेको तर्क गरे ।

डाक्टर इन्दिरा मिश्र, कथाकार शरण राईले विराट अनुपमको प्रश्नमा प्यानल डिस्कसन गर्दै कथाकार ताम्राकारको कृति अब्बल भएको बताए । कार्यक्रममा कवि विवश पोखरेलले ताम्राकारको कथा आँफूले २०६० सालबाट पढ्दै आएको बताउँदै ताम्राकारको लेखनमा सफलताको शुभकामना दिए । कार्यक्रमकी प्रमुख अतिथि कुन्ता शर्माले महिलाहरु घरायसी समस्यामा रहँदा रहँदै पनि साहित्य क्षेत्रमा क्रियाशिल रहनु सराहनीय रहेको बताईन् । कथा लेखनको लागि परिबेष र धैर्यता चाहिन्छ, उनले भनिन्, त्यो धैर्यता रीतामा रहेको छ, उनले समाजलाई गहन अध्ययन गरेर कथा लेखेकी छिन् । महिलाहरु अहिले पनि पुरुषबाट पीडित रहेको बताउँदै शर्माले आगामी दिनमा लेखन क्षेत्रको शुभकामना दिईन् ।

कार्यक्रमा कवि मनु मन्जिलले ताम्राकारको कथा लेखनको प्रगतिको कामना गर्दै कथा लेख्नु जटिल रहेको बताए । लगातार हिडिरह्यो भने सानो कमिलाले पनि पहाड नाघ्छ, मञ्जिलले भने । काठमाडौँको अक्सफोर्ड प्रकाशनले छापेको ‘अनाम परिधि’ कथा संग्रहमा २१ वटा कथाहरू रहेका छन् । २५० मूल्य रहेको पुस्तक ताम्राकारको चौथौँ कृति हो । यस अघि उनको २०६१ सालमा ‘तुषारापात’, २०७३ सालमा ‘दृश्य परिदृश्य’ र २०७४ सालमा ‘संवेग’ नामक तीन कथा सङ्ग्रह प्रकाशन भइसकेको छ । अब पाँचौँ कथासंग्रहको लागि आफूले काम सुरु गरेको ताम्राकारले बताईन् । आफूले घर, परिवार, समाजमा देखेका पात्र र चरित्रलाई कथामा उतारेको उनको भनाई रहेको थियो । समारोहमा इटहरी, धरान, विराटनगर, बेलबारी र आसपासका विभिन्न साहित्यकारहरूको उपस्थिति रहेको थियो ।