ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “नाम मात्रैको प्रयोगशाला” शीर्षकको समाचार छापिएको छ । प्रदेश १ सरकारले विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला सञ्चालनमा ल्याए पनि प्रयोगविहीन अवस्थामा छ । प्रदेश सरकारले विदेशबाट आयात हुने तरकारी तथा खाद्यवस्तुसँगै स्थानीय उत्पादनको पनि परीक्षण गर्ने उद्देश्यले प्रयोगशाला सञ्चालनमा ल्याएको थियो । अहिले उक्त प्रयोगशालाबाट प्रदेशका जनताले कत्तिको मात्रामा विषादीयुक्त तरकारीको प्रयोग गरीरहेका छन् भन्ने जानकारी लिने काम मात्र भएको छ । त्यसको कार्यान्वयन पक्ष भने फितलो अवस्थामा रहेको छ । बालीसंरक्षण प्रयोगशालाकै कार्यालयमा विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला पनि सञ्चालनमा रहेको छ । बालीसंरक्षण प्रयोगशालाका प्राविधिक कर्मचारीले नै त्यस्तो परीक्षण गर्नुपर्ने अवस्था रहेको छ । विषादी द्रुत विश्लेषण प्रयोगशालामा आएका नमुनाहरुको परीक्षण विहान बेलुकाको समय पारेर गर्ने गरेको सहायक प्राविधिक सीता बरालले बताइन् । उक्त प्रयोगशालामा नमूना परीक्षणको लागि सुनसरीको भण्टाबारी नाकाबाट मात्र आलुर प्याजको नमुना आउने गरेको छ ।

औजार : आजको औजार दैनिकमा “सदरमुकामकै अस्पतालमा औषधी अभाव” शीर्षकको समाचार छापिएको छ । सामान्यतया गाउँपालिका भन्दा नगरपालिकामा बढी विकास भएको मानिन्छ तर सुनसरी सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकाको स्वास्थ्य चौकीमा निशुल्क भनिएको औषधी अभाव भएको छ । स्वास्थ्य चौकी बबियामा तोकीएको भन्दा आधा पनि औषधी नभएको अवस्था रहेको स्वास्थ्य चौकीकी अनमी शारदा सिग्देलले जानकारी दिए । उनले नगरपालिका भन्ने बित्तिकै संचार, स्वास्थ्य, शिक्षा, यातायात, खानेपानी र विधुत लगायत पूर्वाधार पुगेको ठाउँ आम नागरिकको बुझाई भएपनि व्यवहार यथार्थमा त्यस्तो नहुँदा स्वास्थ्यकर्मीहरुलाई काम गर्न समस्या भएको बताए । नगरपालिकाको स्वास्थ्य चौकी बबियामा सरकारले निशुल्क उपलब्ध गराएको औषधी समेत अभाव देखिएको सिग्देलले बताए ।

कोशीपत्र : आजको कोशीपत्र दैनिकमा “नेकपा धरानको उम्मेदवार घोषणामा ढिलाई, उम्मेदवारप्रति सबैको चासो” शीर्षकको समाचार छापिएको छ । मंसीर १४ गते हुने उपनिर्वाचनमा धरान उपमहानगरपालिकाको प्रमुख पदका लागि अन्य दलबाट उम्मेदवार घोषणा भइरहँदा सत्तापक्ष नेकपाले उम्मेदवार घोषणामा तुलनात्मक ढिलाइ गर्दा सबैको चासो बढ्दै गएको छ । नेकपाले कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा मतदातादेखि अन्य दल साथै नेकपाकै कार्यकर्तामा पनि चासो बढ्दै गएको हो । नेकपाबाट धरानको प्रमुख पदका लागि केही व्यक्तिको नाम चर्चामा आएपनि कसले टिकट पाउने भन्ने विषयमा सबैको ध्यान केन्द्रित भएको छ । उपनिर्वाचनको मिति नजिकिदै गर्दा नेपाली कांग्रेसले नगरसभापति तिलक राईलाई अघि सार्दै चुनावी प्रचारप्रसारमा अघि बढिसकेको छ ।यता, संघीय समाजवादीबाट गजेन्द्र इस्वो र स्वतन्त्रबाट हर्क साम्पाङले आफ्नो उम्मेदवारी घोषणा गर्दै प्रचारमा लागिसकेका छन् । तर नेकपा भने उम्मेदवार टुंगो नलगाई नै निर्वाचन केन्द्रित कार्यक्रम सञ्चालन गर्न थालेका छन् ।

उद्घोष : आजको उद्घोष दैनिकमा “किराँत राष्ट्रिय लिम्बुवान मोर्चाका ९ पक्राउ” शीर्षकको समाचार छापिएको छ । जिल्ला प्रहरी कार्यालय इलामले पल्लो किराँत राष्ट्रिय लिम्बूवान मोर्चाका केन्द्रीय सचिवसहित नौ जनालाई नियन्त्रणमा लिएको छ । आफ्नो पार्टीको ६४ औँ स्थापना दिवसको अवसरमा जिल्लाका विभिन्न स्थानमा राखिएका राष्ट्रिय झण्डा हटाएर मोर्चाको झण्डा राख्ने क्रममा प्रहरीले उनीहरुलाई आज नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा मोर्चाका केन्द्रीय सचिव धनबहादुर विश्वकर्मा (धमला), पार्टीको महिला सङ्घ केन्द्रीय अध्यक्ष कविरमाया सावा, इलाम जिल्ला अध्यक्ष विजय आङदम्बे, सचिव मनकुमार माखिम, कोषाध्यक्ष मैतराज लिम्बू, जिल्ला सदस्य कमल लकान्द्री, वृजराज चोङवाङ, अजाहाङ लिम्बुू र हर्कप्रसाद नेम्वाङ रहेका छन् । जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक एसपी हीराबहादुर पाण्डेले शान्ति सुरक्षामा आच आउने काम गरेकाले उनीहरुलाई नियन्त्रणमा लिएको जानकारी दिए । मोर्चाका कार्यकर्ताले जिल्लाका सरकारी कार्यालयलगायतका स्थानमा राखिएका राष्ट्रिय झण्डा हटाएर मोर्चाको झण्डा राखेका थिए ।