पथरी: धान भित्राउने समयमा फौजी किराको प्रकोप वढेपछि मोरङ्ग पथरीशनिश्चरे ५ कोठेवारी, मैनखाडीका किसान चिन्तित छन् ।

फलेको धानमा फौजी किराको प्रकोप वढेसंगै यहाँका किसानले पाक्न लागेको धान काटन थालेका छन् । काटेर खेतमा सुकाएको धान समेत किराको प्रकोपले नष्ट हुन थालेपछि किसानमा थप चिन्ता थपिएको हो । केही समय अघि झापा र सुनसरीमा देखिएको फौजी किराको प्रकोप पथरी शनिश्चरेका धानवालीमा समेत पुगेको छ । पाक्ने तयारीमा रहेको धान नोक्सान गरेपछि यतीबेला यहाँका किसानहरु भने चिन्तित बनेका छन ।

पुर्वी मोरङ्गकै बढी धान उत्पादन हुने कोठेवारी, मैनखाडी क्षेत्रमा फौजी किराको प्रकोप बढ्दै गएपछि यसको नियन्त्रणका लागी किसानले संम्वधित पक्षसंग आग्रह गरेका छन् । फौजी किराको प्रकोप दैनिक व्यापक बन्दै गएपछि धान उत्पादन घट्ने यहाँका किसानहरु वताउँछन् । यहाको करिव १० विगाह जग्गामा लगाइएको धानमा फौजीको प्रत्यक्ष असर देखिएको छ ।

पथरीशनिश्चरे ५ कोठेवारीका कृषक प्रेम प्रसाद ज्ञवालीको छ कठ्ठा जग्गामा लगाइएको धान फौजीको प्रकोपले नष्ट भएको छ । उनले भने ‘गत वर्ष ३० मन धान फलेको खेतमा यस वर्ष फौजीको प्रकोपले ७मन धान भित्राउन नसकिएला जस्तो भएको छ ।’ फौजीको नियन्त्रण नभए यस वर्ष किसानलाई समस्या हुने उनले बताए ।

कृषक डम्वर कुमार अधिकारीका अनुसार फौजीको प्रकोपले पुरै धानको वाला काटेको छ । ठाडै रहेका धानमा मात्र नभएर काटेर सुकाएका धान पनि पाजामै नष्ट भएको छ । ‘फौजी किराले यस वडाका मात्र १० बिघामा भन्दा वडिमा लगाइएको धानबाली नष्ट गरिरहेको छ,’उनले भने, ‘कुन विषादीले यो किरा मार्न सकिन्छ थाहा छैन । यो वर्ष धान नफल्ने हो कि भन्ने चिन्ता छ ।’

फौजी किराका कारण धानबाली नष्ट भएपछि त्यसको नियन्त्रणका विषयमा समेत जानकार नभएको पाइएको छ । एक सातादेखि फौजी किराको प्रकोप देखापरेपछि धानबालीमा निर्भर किसान चिन्तित बनेका छन् । फौजी किराले थोरै समयमा पनि धेरै बाली नष्ट गरेको उनीहरुले बताएका छन् । दिनभरि धानको गाँजमा लुक्ने र रात परेपछि किराले धानको डाँड, पात र टुप्पा खाने गरेको छ । दुईतीन दिनमै फौजी किराले धानबाली नष्ट गरेपछि कसरी नियन्त्रण गर्ने भन्नेमा किसान अलमलमा छन् । किसानले रोपेको रन्जीत मन्सुली जातको धानमा यसको प्रकोप देखिएको छ । यस भन्दा अधिका फसलमा यस्तो किराको प्रकोप नभएको कृषकहरु वताउछन् ।

प्रति बिघा ७०,८० मनसम्म उत्पादन हुने धानबालीमा फौजी किराको प्रकोप देखिएपछि यहाका किसानलाई समस्या भएको वडा सदस्य चेतेन्द्र खडकाले वताए । उनले भने ‘फौजीको प्रकोप वारे नगरपालिकाको कृषी शाखामा जानकारी गराएको र समाधानको बाटो खोज्न सुरु गरेका छौ ’। उनले भने, ‘यो ठूलो समस्याका रुपमा देखापरेको छ । यसको समाधानका लागि हामी छलफलमा छौँ । चाँडै समाधान निकाल्ने प्रयासमा छौँ । अरुको अधिया खेती गर्दै आएका सोहि ठाउका कृषक चिरन्जीवी वन्जराका अनुसार धान थन्काउन नपाइ किराले खाएपछि अनिकाल आउने त्रास यहाका किसानमा रहेको छ ।

पथरीशनिश्चरे नगरपालिकाको कृषि शाखा प्रमुख सावित्रा कार्किका अनुसार फौजी किराको प्रकोप नगरमा पहिलो पटक देखिएकोले छ । धानको फुल खेल्ने समयमै प्रकोप फैलिएको थाह भए नियन्त्रणका लागी पहल थालिने भएपनि फसल उत्पादन भएपछि देखिएको प्रकोप नियन्त्रण गर्न नसकिने कार्किले वताइन् । अव लगाइने वालीमा भने फौजीको प्रकोप नफैलियोस भनि किसानलाई नगरपालिकाले प्रविधिक सहयोग गर्ने उनी वताउछिन् । मकैमा समेत फौजीको प्रकोप रहने हुदा किसान सचेत हुनु पर्ने कार्की वताउछिन् ।