काठमाडौं : सामान्यतया गर्भ रहेको केही समयपश्चात् महिलाले स्वेच्छामा गर्भमा रहेको शिशु फाल्नुलाई गर्भपतन भनिन्छ । गर्भपतन आजको समयमा महत्वपूर्ण विषय हो, तर अझै पनि कतिपयमा गर्भपतनबारे पूर्ण जानकारी छैन ।

नेपालमा १२ हप्तासम्मको गर्भपतन गराउन सकिने कानुनी व्यवस्था छ । हाडनाता करणी, बच्चा र आमाको ज्यान जान सक्ने खतरा तथा विशेष परिस्थितिमा भने १८ हप्तासम्मको गर्भ पनि पतन गर्न सकिन्छ ।

गर्भपतन महिलाको स्वइच्छामा सुरक्षित स्वास्थ्य संस्थामा मात्र गर्नुपर्छ । तर, समयमा समाजमा बेइज्जती हुने डरका कारण कतिपयले असुरक्षित गर्भपतनको बाटो अपनाउने गरेको पाइन्छ, शारीरिक तथा मानसिक स्वास्थ्यमा यसको नकारात्मक असर पर्छ । सामाजिक डरका कारण गर्भपतन गराउने अविवाहित महिलाको संख्या ठूलो छ । स्वास्थ्य संस्थामा गएर अनुभवी चिकित्सकद्वारा गर्भपतन गराएमा खासै असर पर्दैन । तर, औषधिको सेवन वा अन्य विधिबाट गर्भपतन गराउँदा समस्या देखिन सक्छ ।

नेपालमा १२ हप्तासम्मको गर्भपतन गराउन सकिने कानुनी व्यवस्था छ । विशेष परिस्थितिमा भने १८ हप्तासम्मको गर्भ पनि पतन गर्न सकिन्छ ।

यसरी गर्भपतन गराउँदा गर्भ पूर्ण रूपमा नजान सक्छ । जसले गर्दा पछि गएर संक्रमण भई क्यान्सर हुने डर रहन्छ । गर्भपतनपछि अत्यधिक रगत बग्ने खतरा रहन्छ । तसर्थ, चिकित्सकको निगरानीमा मात्र गर्भपतन गराउनु उपयुक्त हुन्छ । नियमित सरसफाइ गर्नुपर्छ । सरसफाइको अभावमा संक्रमण हुने डर हुन्छ । प्रशस्त मात्रामा पौष्टिक आहार सेवन गर्नुपर्छ ।

गर्भपतन गराउँदा शरीरबाट रगत बगेर जाने भएकाले कमजोर महसुस हुन सक्छ । त्यस्तै, शरीरमा आवश्यक तत्वको अभावका कारण स्वास्थ्य समस्या देखिने भएकाले खानपानमा विशेष ध्यान दिन जरुरी हुन्छ । रगत धेरै बगेमा तुरुन्त चिकित्सकको सल्लाह लिनुपर्ने हुन्छ । गर्भपतनपछि अर्को गर्भधारणका लागि कम्तीमा ६ महिना देखि १ वर्षको समय राख्नुपर्छ ।

डा. सुमी मुनंकर्मी, स्त्रीरोग विशेषज्ञ, नेपाल नेशनल अस्पताल