औजार : आजको औजार दैनिकमा “मानव तस्करी गर्ने महिला पक्राउ” शीर्षकको समाचार छापिएको छ । अवैध रुपमा नेपाली महिलालाई खाडि मुलुक पुर्याउन सक्रिय भोजपुरकी कल्पना राई पक्राउ परेकी छन् । दुई महिलालाई रोजगारीको प्रलोभन देखाएर नेपालगञ्ज हुँदै भारतको रुपैडिया पुर्याएको अवस्थामा भारतीय सुरक्षाकर्मीले राई पक्राउ गरेकी हुन् । भारतको शसस्त्र सीमा बल (एसएसबी)को ४२ औं बाहिनीमा तैनाथ एसआई सरिताका अनुसार बिहीबार सीमा नाका रुपैडिया प्रहरी र एसएसबीले संयुक्त सुरक्षा जाँच अभियानका क्रममा तीन नेपाली महिलामाथि शंका लागेर सोधपुछ गरेको थियो । उनीहरुको जवाफ चित्त नबुझेपछि एसएसबी क्याम्पमै ल्याएर थप सोधपुछ गर्दा दुई महिलाले खाडि मुलुक जान लागेको बताएको प्रहरीले जनाएको छ । उनीहरुले आफूसँगै रहेको कल्पनामार्फत खाडी मुलुकमा रोजगारीका लागि जान लागेको जानकारी दिएपछि आवश्यक कारबाही प्रक्रिया थालिएको सुरक्षा अधिकारीको भनाई छ । कल्पनाले खाडि मुलुक पठाउन आफुसँगै लगेका दुई महिलाको परिचय भने खुलाएको छैन ।

ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “खोलामा बाह्रै मास अवैध उत्खनन्ः पक्राउ गर्दै छोड्दै” शीर्षकको समाचार छापिएको छ । विराटनगर महानगरपालिका भित्र पर्ने केसलिया र सिङघिया खोलामा बाह्रैमास अवैध उत्खनन् हुने गरेको छ । त्यसरी अवैध ढंगले उत्खनन् र ढुवानीमा संलग्न स्काभेटर, टिपर र ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएर महानगरपालिका र जिल्ला समन्वय समिति मोरङलाई बुझाउने क्रम जारी छ । पटक–पटक पक्राउ पर्दा पनि तस्करी नियन्त्रणमा भने आउन सकेको छैन । मोरङ प्रहरीले विराटनगर १४ स्थित सिङघिया खोलामा अवैध रुपमा बालुवा उत्खनन्मा संलग्न चारवटा ट्याक्टर शनिबार नियन्त्रणमा लिएको छ । अवैध उत्खनन् भइरहेको विशेष सुचनाको आधारमा अवैध उत्खनन्मा संलग्न ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको मोरङ प्रहरी प्रवक्ता डिएसपी राजकुमार खिउँजुले जानकारी दिए ।

कोशीपत्र : आजको कोशीपत्र दैनिकमा “चौबिसेमा हुर्रा महोत्सव” शीर्षकको समाचार छापिएको छ । मगर जातिको भाषा, संस्कृतिको संरक्षण तथा सम्बद्र्धन गर्ने उद्देश्यले धनकुटाको चौबिसे गाउँपालिका १ सौरेबजारमा दोश्रो हुर्रा महोत्सव सम्पन्न भएको छ । नेपाल मगर संघ वडा कार्यसमिति धनकुटाको आयोजनामा सम्पन्न भएको दोस्रो हुर्रा नाच महोत्सवमा मगर जातिको बाहुल्यता रहेको गाउँपालकाका विभिन्न वडाबाट ११ ओटा हुर्रा टिमको सहभागिता रहेको थियो । हुर्रा महोत्सवमा सहभागी सबै टिमलाई नगद ४ हजारका दरले दान दिएर बिदा गरिएको नेपाल मगर संघ वडा कार्यसमितिका अध्यक्ष दिलबहादुर मगरले बताए ।

उद्घोष : आजको उद्घोष दैनिकमा “कुकुर मारेको अभियोगमा इटहरीबाट ३ पक्राउ” शीर्षकको समाचार छापिएको छ । बुधबार राति सुनसरीको इटहरी १ हलगडास्थित मोहन विश्वकर्माको घरमा तोडफोड गरी घरमा पालेको कुकुर काटेर मारेको अभियोगमा इलाका प्रहरी कार्यालय इटहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इटहरी ५ का सन्दिप राई, विशाल माझी र मनोज भण्डारी छन् । घटनापछि फरार रहेका उनीहरुलाई मोरङको पथरीमा लुकीछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । उनीहरुको समूहले विश्वकर्माको घरमा तोडफोड गर्नुको साथै जर्मन सेफर्ड कुकुरको हत्या गरेको प्रहरीको भनाई छ ।