धरान: चुनावी अभियानमा होमिएको नेपाली कांग्रेसले आज धरान वडा नं १८ मा झाँकीसहित भारत विरुद्ध र्यालीसमेत निकालेको छ ।

र्यालीमा गो ब्याक इण्डियाको ब्यानर पनि प्रर्दशन गरिएको थियो । राजनीतिक दल तथा उम्मेदवारहरु भोट माग्न ब्यस्त भइरहदा कांग्रेसले धरानमा प्रर्दशनसमेत गरेको हो । धरान वडा नं.१८ को विभिन्न चोकहरुमा प्रर्दशन भएको थियो । र्यालीको क्रममा कांग्रेसलाई रुखमा भोट दिन आह्वान गर्दै कम्युनिष्टलाई हेर्यौ पटक–पटक, कांग्रेसलाई हेरौं यस पटक भन्ने नारा पनि लगाएका थिए । यस्तै, लिपुलेक, कालापानी र लिम्पियाधुरा हाम्रो हो, सरकारमा बस्ने बैरो भो, भारतीय विस्तारवाद मुर्दावाद भन्ने नारा पनि लागेको थियो ।

congress1 1

वडा नं १८ का वडाअध्यक्ष प्रविन राईले भारतले नेपाली भुमि अतिक्रमण गरेकोले उपनिर्वाचन लक्षित कार्यक्रममा भारतीय विस्तारवादको विरोध गरिएको बताए । बुद्ध चोकबाट सुरु भएको प्रदर्शन देविथान लाइन, न्यूरोडलाइन, स्कुलमार्ग, सृजनशिलमार्ग, मङ्गलबारे रोड, रत्न चोक, बुद्धचौक, शिव चौक हुँदै क्याम गेटमा पुगेर कोणसभामा परिणत भएको थियो । प्रदर्शनमा नेपाली कांग्रेस निकटका भातृ संगठन तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।

कोणसभामा वक्ताहरुले कम्युनिष्ट सरकारको चर्को आलोचना गरेका थिए । उनीहरुले जनताले अब कम्युनिष्ट सरकारको विकल्प खोजेकोले उपनिर्वाचनमा कांग्रेसको जित निश्चित भएको बताएका थिए । कोणसभामा बिशिष्ट अतिथि एवं युवा नेतृ लक्ष्मी खतिवडा, कांग्रेस जनसम्पर्क समितिका १ नं प्रदेशका संयोजक तथा नेपाली कांग्रेस युकेका सभापति किरण राई, नेपाली कांग्रेस सुनसरी क्षेत्र नं १ का सचिव मुरारी भटराई र तरुण दलका नगरसभापति हिमाल श्रेष्ठले सम्बोधन गरेका थिए । आगामी मङ्सिर १४ गते धरानमा मेयर पदको उपनिर्वाचन हुदैछ । नेपाली कांग्रेसले नगरसभापति तिलक राईलाई उम्मेद्वारमा उठाएको छ । यतिबेला धरानमा नेपाली कांग्रेस र नेकपा लगायतका राजनीतिक दलहरु चुनावी प्रचारप्रसारमा तीव्र रुपमा होमिएका छन् ।

congress3

साथै, सोही कार्यक्रममा नेपाली कांग्रेस वडा नं १८ को १ सय ५१ सदस्यीय चुनाव प्रचारप्रसार समिति पनि घोषणा गरिएको थियो । कांग्रेस बुथ सभापति नवराज राई समितिको संयोजक, सहसंयोजकमा बाबाकाजी राई, अमित तामांग र देवान राई रहेका छन् भने सदस्य सचिवमा दोर्जे शेर्पा रहेका छन् । यस्तै, गणेश राईको संयोजकत्वमा १३ सदस्यीय सल्लाहकार समिति पनि गठन गरिएको वडा न. १८ का अध्यक्ष एवं कांग्रेस क्षेत्रीय सदस्य प्रविण राईले जानकारी दिए ।