धरान: २२ औं संस्करणको बुढासुब्बा रेडबुल गोल्डकप प्रतियोगिताको प्रोमोसन कप अन्तर्गत आइतबार भएको खेलमा आयोजक धरान फुटबल क्लव विजयी बनेको छ ।

आइतबार धरान–१७ स्थित एन्फा टेक्निकल सेन्टरमा भएको खेलमा यातायात व्यवसायी संघ धरानलाई २–१ गोल अन्तरले पराजित गर्दै आयोजक धरान फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको हो । बुढासुब्बाको प्रोमोसन कप चौथो संस्करण चलिरहेको छ । जितका लागि धरान फुटबल क्लबका तर्फबाट जनक सुनुवार र तीर्थराज मगरले गोल गरेका थिए । यता यातायात व्यवसायीको तर्फबाट भक्त राईले मात्र गोल गरेका थिए ।

football1

अब फाइनलमा पुग्नको लागि आयोजक धरान फुटबल क्लवले कार्तिक २८ गते उद्योग बाणिज्य संघ सुनसरी र नेपाल पत्रकार महासंघ सुनसरीको विजेता टोलीसंग प्रतिस्पर्धा गर्नेछ । खेलको म्यान अफ द म्याच पनि भक्त नै घोषित बन्दै नगद ५ सय रुपैयाँसहित मेडल थापे । सोमबार धरान उपमहानगरपालिका र प्याब्सन एनप्याब्सनको संयुक्त टिमबीच खेल हुने आयोजकले जनाएको छ ।

प्रमोशन कप विजेता टिमले नगद ३० हजार र उपविजेता टिमले नगद १५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यसैगरी, व्याक्तिगत पुरस्कार समेत वितरण गरिने जनाइएको छ । शनिबारदेखी शुरु भएको प्रोमोसन कपमा आयोजकसहित ८ टिमको सहभागीता रहेको छ । बुढासुब्बालाई भब्य बनाउनको लागि प्रोमोसन कपको आयोजना गरिएको क्लवका अध्यक्ष किशोर राईले बताए ।