काठमाण्डौं: डडेलधुरामा पुगेर १७ औं पटक अनसनमा बसेका डा.गोविन्द केसीको स्वास्थ्य बिग्रदै नाजुक भएको छ ।

डा.केसीको अनसन नवौं दिनमा पुगेको छ । स्वास्थ्य अवस्था नाजुक भएपनि उनले उपचार गर्न भने अस्वीकार गरेका छन् । डा.केसीको उपचार गर्न स्वास्थ्य मन्त्रालयले चिकित्सक टोली पठाएको थियो । तर, उनले थप उपचार गर्न मानेनन् । डडेल्धुरा अस्पतालका मेसु डा.जितेन्द्र कँडेलका अनुसार स्रोत साधन अभाव भएकोले डा.केसीलाई तत्काल सुविधासम्पन्न अस्पतालमा लैजानु पर्ने अवश्यकता छ । डा.केसीलाई लिन हिजो हेलिकप्टर पुगेपनि उनले अन्त जान नमानेपछि रित्तै फर्किएको थियो ।

डा.केसीले आफ्ना माग पुरा नहुँदासम्म कुनैपनि उपचार नगर्ने अडान लिएका छन् । उनले सरकार आफ्ना मागको विषयमा उदासिन बसेको आरोप लगाएको छ । चिकित्सकका अनुसार स्वास्थ्य अवस्था अत्यन्तै नाजुक भएको छ । डा.केसीको शरीरमा पानी र चिनीको मात्रै अत्यन्तै कम भइसकेको छ । डा.केसीको माग पुरा नगरी अन्यत्र लैजान खोजेको भन्दै स्थानीयबासीले विरोध प्रर्दशन गरेका छन् ।

सरकारविरुद्ध दबाब बढाउन स्थानीय सरकारसमेत बहिष्कार गर्ने तयारी डडेल्धुरावासीले थालेका छन्। आइतबारदेखि सरकारी गाडी सञ्चालनमा रोक लगाइएको छ। स्थानीयको हितका माग राखी डाक्टर केसी अनशनमा भए पनि स्थानीय सरकार प्रमुख तथा जनप्रतिनिधिहरू सकारात्मक भूमिका निर्वाह गर्न पछि हटेको भन्दै केसी पक्षधरहरूले स्थानीय सरकारलाई बहिस्कार गर्ने तयारी थालेका हुन्।