धरान : धरान १५ स्थित रहेको तीन वटा टोलमा आपराधिक घटना न्यूनिकरण गर्न सिसिटिभी क्यामेरा जडान गरिएको छ ।

मङ्गलबार एक कार्यक्रमको आयोजना गरि निराजन मार्ग, सुवेदी टोल तथा नमुना चोकमा तीन वटा सिसिटिभीको उद्घाटन गरिएको हो । उक्त तीन वटा टोल तथा चोकको संयुक्त तिहारमा देउसीभैलो खेलेर तथा टोलबासीको सहयोगमा सिसिटिभि जडान गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले कार्यक्रमलाई सम्बोधन गर्दै ५० जना प्रहरीको काम एक वटा सिसि क्यामेराले गर्ने बताए । डिएसपी न्यौपानेले भने, ‘म धरानबासीदेखि अत्यन्तै खुशी छु, आफ्नो घर नबनाएर पनि प्रहरी चौकी निर्माण गरिदिने काम गर्नु हुन्छ, टोलबासी तथा धरानबासीप्रति धन्यवाद प्रकट गर्दछु ।’
टोलबासीले सिसिटिभी जडान गरेर सराहणीय काम गरेको डिएसपी न्यौपानेले बताए । उनले नमुना चोक काठे पुल एरियामा प्रहरी बिटका लागि टोलबासीले एउटा भवन निर्माण गरिदिए भने शान्ति सुरक्षाका लागि प्रहरी खटाउने प्रतिबद्धता समेत गरे । ‘यहाँ राखिएको सिसिटिभी प्रहरीले निगरानी गर्ने’–उनले भने ।

cctv-1

निराजन मार्ग, सुवेदी टोल र नमुना चोकको संयुक्त देउसीभैलो समूहका सल्लाकार डाकमान राईले स्वागत मन्तब्य राख्दै भने, ‘धरान बजारमा अपराध गरेर लुक्न आउने क्षेत्र हो, त्यसैले सिसिटिभी राखेका हौं ।’ सिसिटि जडानपछि आपराधिक क्रियाकलाप न्यूनिरकणमा ठूलो भूमिका खेल्ने सल्लाहकार राईले बताए ।

निराजन मार्ग, सुवेदी टोल तथा नमुना चोकको सयुक्त देउसीभैलो समूहका अध्यक्ष गणेश टक्का राईले धरान उपहानगरपालिकाले तीन वटा टोलप्रति बेवास्ता गरेको गुनासो गरे । उक्त क्षेत्रका उन्नति तथा प्रगति गर्न धरान उपमहानगरपालिकालाई अध्यक्ष राईले ध्यानाकर्षण गराए ।

यसैगरी समूहकी कोषाध्यक्ष दिलकुमारी राईले तीन वटा सिसिटिभी ७५ हजार रुपैयाँको लागतमा जडान गरिएको जानकारी दिईन् । साथै उनले कार्यक्रममा आर्थिक आयव्यय समेत प्रस्तुत गरेकी थिइन् । कार्यक्रमको सञ्चालन भने देउसीभैलो समूहका सचिव रोहित कुलुङ राईले गरेका थिए ।