धरान: धरानको सल्लेहरी वचत तथा ऋण सहकारी संस्थाबाट ठगिएका पीडितहरुले मंगलबार विरोध र्याली निकालेका छन् ।

झण्डै तीन महिना बित्दा पनि आफुहरुले वचत गरेको करोडौं रकम फिर्ता हुने अवस्था नदेखिएको भन्दै पीडितहरुले सडक आन्दोलन थालेका हुन् । उनीहरुले भानुचोक र्याली निकालेका थिए । र्याली छाताचोक, लक्ष्मीचोक, पुरानो बजार, रत्न रोड क्षेत्रमा पुगेको थियो । आफुहरुले वचत गरेको रकम फिर्ता हुने अवस्था नभएको र राजनीतिकर्मीबाट पनि आफुहरुलाई थप अन्यायमा परेकोले सडकमा उत्रन बाध्य भएको संघर्ष समितिका अध्यक्ष तुलसीप्रसाद बिकले बताए । ‘यतिका महिना भइसक्यो, हाम्रो वचत रकम फिर्ता हुने वातावरण भएन, त्यसैले सडकमा नै आउनुपर्यो,’उनले भने,'हामीले न्याय कहिले पाउने ?'

सहकारीका अध्यक्ष बिकले वचतकर्ताहरुको करिब ८ करोड २३ लाख हिनामिना गरेको खुलेको छ । उनी जिल्ला अदालत सुनसरीको आदेशमा पुर्पक्षको लागि थुनामा छन् भने अन्य सञ्चालक समिति सदस्य, कर्मचारीहरु भने धरौटी बुझाएका थिए । पीडितहरुले र्यालीमा कांग्रेस नेता तथा सांसद मिन विश्वकर्माको राजिनामा दिनुपर्ने प्लेड कार्ड पनि बोकेका थिए । सहकारीको पैसा हिनामिना गरेर भागेको अध्यक्ष कृष्ण बिकको घरजग्गा सांसद विश्वकर्माले आफन्तको नाममा नामसारी गराएको र पीडितहरुले आफ्नो वचत रकम फिर्ता नहुने अवस्था बनाएको आरोप लगाउदै आएका छन् ।

सहकारीका अध्यक्ष बिक फरार भएको बेला सांसद विश्वकर्माले आफन्तको नाममा अध्यक्षको परिवारको घरजग्गा नामसारी गराएको खुलेको थियो । ‘मिनबहादुर विश्वकर्मा पनि पीडित हो भने हामी पनि हौं, त्यसरी एकलौटीरुपमा अध्यक्षको घरजग्गा, सम्पत्ति हड्प्न हुदैन, हामी सबैले दामासाहीमा पाउनुपर्छ भन्ने हो, तर उहाँले हाम्रो कुरा नै सुन्न चाहनु भएन,’अध्यक्ष बिकले भने ।