काठमाण्डौं : बलिउडका मिस्टर खेलाडी अक्षय कुमार बक्स अफिसमा व्यापारको सुइ घुमाउन माहिर खेलाडी हुन् । सन् २०१९ मा रिलिज भएका अक्षयका सबै फिल्मले बक्स अफिसमा नोट छापे ।

यही वर्ष रिलिज भएको फिल्म ‘मिसन मंगल’ अक्षयको करिअरको सबैभन्दा बढी कमाउने फिल्म बनेको थियो । अब भने उनले आफ्नो रेकर्ड छोटो समयमै तोड्ने देखिएको छ ।

अक्षय कुमारको ‘मिसन मंगल’ ले २०२ करोड भारु कमाएको थियो । यो रेकर्डलाई ‘हाउसफूल ४’ ले तोड्ने देखिएको छ । भारतीय मिडियाका अनुसार फिल्मले रिलिजको तेस्रो हप्तासम्म आइपुग्दा १९८ करोड कमाइ गरेको छ ।

फिल्मले अहिले पनि बक्स अफिसमा शानदार कमाइ गरिरहेको छ । फिल्म पण्डितले यो फिल्मले अक्षय कुमारको ‘मिसन मंगल’ को कमाइलाई जित्ने आँकलन गरेका छन् । कमेडी जानरामा बनेको यो फिल्मले समीक्षा राम्रो नपाए पनि दर्शकको साथ भने पाएको छ ।