धरान: धरान निवासी चर्चित साहित्यकार कुन्ता शर्माले अमेरिकामा सर्वोत्कृष्ट काव्य पुरस्कार पाएकी छिन् ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले अमेरिकाको वासिन्टन डिसीमा एक भव्य समारोहबीच साहित्यकार शर्मालाई यो पुरस्कार प्रदान गरेको हो । पुरस्कार राशी १ हजार अमेरिकी डलर रहेको छ । समाजले हरेक २ बर्षमा प्रदान गरिने यो पुरस्कार रोहिणी शर्मा-सीता शर्मा सर्वोत्कृष्ट काव्य पुरस्कार यसपाली साहित्यकार कुन्ता शर्माले पाएकी हुन् । उनलाई मेरो मान्छे कविता संग्रहको लागि यो पुरस्कार प्रदान गरिएको समाजले जनाएको छ । यो पुरस्कार एरिजोना निवासी अनेसास बोर्ड अफ ट्रस्टिज (बिओटी) का पूर्व उपाध्यक्ष रोहिणी शर्माले स्थापना गरेका हुन् । पुरस्कृत शर्मा बिशेष गरी साहित्यको कविता विधामा कलम चलाउछिन् । उनको पोथी बास्नु हुदैन भन्ने शिर्षकको कविता चर्चित छ । 

महाकवि लक्ष्मीप्रसाद देवकोटाको १११ औँ जन्मजयन्तीका अवसरमा आयोजना गरिएको कार्यक्रममा अमेरिकाका लागि नेपाली राजदूत डा। अर्जुनकुमार कार्की तथा बिओटी अध्यक्ष गीता खत्रीले नगद पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए । सोही समारोहमा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. खगेन्द्रप्रसाद लुइटेललाई अमेरिकी डलर २५०० राशीको अनेसास राम लामा अविनाशी विशिष्ट प्रतिभा पुरस्कार तथा सम्मानपत्र प्रदान गरिएको थियो ।

inls-54

यस्तै, अमेरिकी डलर २००० राशीको अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कारबाट नेपालका कथाकार नरेन्द्रराज पौडेल रोबोटका आँखा नामक कथासंग्रहलाई प्रदान गरिएको छ । यसै गरी अमेरिकी डलर ११०० राशीको अनेसास स्व। दिल–लीला सर्वोत्कृष्ट डायस्पोरा पुस्तक पुरस्कार छाप्रो नं.५५ नामक उपन्यासका लागि भुटानबाट प्रवासी जीवनका क्रममा नेपाल हुँदै हाल अमेरिकामा रहेका युवा उपन्यासकार रमेश दियालीले प्राप्त गरेका छन् ।

अनेसास डा. श्याम कार्की–इन्दिरा कार्की सर्वोत्कृष्ट निबन्ध पुरस्कार यस वर्ष नियात्राकार घनश्याम राजकर्णिकारलाई प्रदान गरिएको छ । ५०० अमेरिकी डलरको अनेसास गीता खत्री सर्वोत्कृष्ट गजल पुरस्कार यस वर्ष नमिता बरालको आँगन गजल संग्रहले पाएको छ । यस्तै, ५०० डलर राशीकै अनेसास लक्ष्मण सत्याल सर्वोत्कृष्ट संस्कृति अनुसन्धान पुरस्कार मस्टो संस्कृति नामक सांस्कृतिक अनुसन्धानमुलक कृतिका लागि संस्कृतिविद् तेजबहादुर कार्कीलाई प्रादन गरिएको छ ।