धरान: झण्डै ३ महिना अघि धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हाताभित्र रहेको दिल्ली पब्लिक स्कुलको गेटमा बम बिष्फोटमा संलग्न नेकपा माओवादी(विप्लव)को ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा विप्लव समुहका सुनसरी जिल्ला सेक्रेटरी दुहबी नगरपालिका ८ का ३१ बर्षीय मोहन बस्नेतसमेत छन् । प्रहरीले सेक्रेटरी बस्नेतसहित विप्लवको युवा संगठन सुनसरीको संयोजक सागर राई र विप्लवको सुनसरी जिल्ला सदस्य क्षितिज भन्ने सुरेश कुमार राईलाई पनि पक्राउ गरेको छ । युवा संगठनका संयोजक राईको खास घर भोजपुरको ट्याम्के मैयुङ गाउँपालिका २ भएपनि उनी हाल धरान ११ मा बस्दै आएका थिए । जिल्ला सदस्य क्षितिज पनि धरान ११ निवासी हुन् ।

dps-bisfod1,

उनीहरुलाई मंगलबार १ नं प्रदेश प्रहरी कार्यालय, क्षेत्रीय अनुसन्धान समुह विराटनगर र इलाका प्रहरी कार्यालय धरानले सुनसरीको विभिन्न स्थानबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । डिएसपी ढुण्डीराज न्यौपानेका अनुसार सेक्रेटरी बस्नेतलाई इटहरी ८ बाट र राईद्धयलाई सुनसरीको रामधुनी ६ बाट पक्राउ गरिएको हो । सेक्रेटरी बस्नेतबाट मोवाइल ४ थान, सहयोग रसिद पाना ४ र डायरी १ थान वरादम भएको प्रहरीले जानकारी दिएको छ । यस्तै, सागरको साथबाट मोवाइल १ थान वरामद भएको छ भने क्षितिजको साथबाट मोवाइल र एक थान मोटरसाइकल पनि वरामद भएको प्रहरीले जनाएको छ । उनीहरुलाई सुनसरी जिल्ला अदालतबाट बुधबार म्याद थप गरी आवश्यक अनुसन्धान कार्य भइरहेको डिएसपी न्यौपानेले जानकारी दिए ।