धरान: नेपाली कांग्रेसका केन्द्रीय तहका नेताहरुले आगामी मङ्सिर १४ गते हुने निर्वाचनमा धरानबासीलाई कालापानीबासीले कम्युनिस्टलाई मत नदेऊ भनेर सन्देश पठाएको बताएका छन् । साथै, कांग्रेस उपसभापति विजय गच्छदारले कांग्रेसले जितेमा धरान हङकङ जस्तै विकसित सहर बनाउने दाबी गरे ।

नेपाली कांग्रेसका केन्द्रीय नेता धनराज गुरुङ्गले कालपानी, लिपुलेक, लिम्पीयाधुरा, दार्चुलाका नागरिकहरुले पठाएको कम्युनिस्टलाई मत नहाल्नु भन्ने सन्देश धरानमा लिएर आएको बताए । उनले नेपाली भुमी भारतले आफ्नो नक्सामा राखेपछि पनि चुइक नबोली खुट्टा कमाउने कम्युनिस्टका नेताहरुलाई भोट दिए पाप लाग्ने बताए । प्रधानमन्त्री केपी ओलीका कारण गणतन्त्र खतरा परेको गुरुङ्गले आरोप लगाए । बेला बेलामा केपी ओलीले मिडियामा गणतन्त्र खतरामा छ भनेर गोहीको आँशु झार्ने गरेको बताउदै गुरुङले ओलीकै कारण देशमा भष्टचार बढेको बताए ।' गरिब जनताको करले राष्ट्रपतिलाई अरबौको हेलिकप्टर किने पछि गणतन्त्र खतरामा नपरे के पर्छ ?' भनेर गुरुङले प्रश्न गरेका थिए । दुई तिहाइको बहुमतको सरकारले गणतन्त्र खतरामा पर्यो भन्ने कम्युनिष्टलाई भोट नदिन धराने जनतालाई आग्रह समेत गरे ।

नेपाली कांग्रेसका उम्मेदवार तिलक राईले जिते धरान नेपालको हङकङ जस्तै विकसित बनाउने दाबी नेपाली कांग्रेसका केन्द्रीय उपसभापति बिजयकुमार गच्छदारले गरेका छन् । बुधबार उमेदवारी दर्ता पछिको कोणसभालाई सम्बोधन गर्दै गछ्यदारले धराने जनतालाई कांग्रेसको रुख चिन्हमा मत लगाएर तिलक राईलाई बिजय गराउन गउनले आब्हानसमेत गरे । उनले भने,'धरान सुनसरीको मात्र सहर हैन, यो त नेपालको सुन्दर पर्यटकीय क्षेत्र हो । यसलाई नेपालको हङकङ बजारको रुप दिन नेपाली कांग्रेसकय उमेदवार तिलक राईले जित्नै पर्छ ।' उम्मेदवारी मनोनयनमा देखिएको जनलहरले धरानमा कांग्रेसले जितको संकेत गराई सकेको उनले बताए ।

धरान-१२ छाता चोकमा भएको कोण सभामा उपसभापति विजय गच्छदारले कम्युनिस्टहरु बिकास बिरोधी भएको आरोप लगाए । २०५० सालमा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा धरानमा वीपी कोइरला स्वास्थ्य बिज्ञान प्रतिष्ठानको परिकल्पना गरी शिलान्यास गर्न आउदा यहाँका कम्युनिस्टले ढुङ्गामुढा गरेको स्मरण गर्दै गच्छदारले तर पनि प्रधानन्त्री कोइरालाले वीपी प्रतिष्ठान धरानमा नै स्थापित गरेको र यही वीपी प्रतिष्ठानको कारण धरानको मुहार परिवर्तन गरेको दाबी गरे । २०५० सालमा उजाड बन्दै गएको धरानलाई कांग्रेस सरकारले नै वीपी प्रतिष्ठान दिएपछि अहिले स्वास्थ्य सेवाको केन्द्र बनेको गच्छदारले बताए । कांग्रेस राजनीति गर्न मात्र धरान नआउने भन्दै गच्छदारले बिकास गर्न पनि आउने गरेको र धरानदेखि चतरा हुँदै काठमाडौसम्मको सडकको परिकल्पना कांग्रेसले नै गरेको दाबी गरे । उनले २०४६ सालदेखि कम्युनिस्टले जितेको धरानमा यसपाली उपनिर्वाचनमा लाल किल्ला चोडिने पनि उद्घोष गरे ।

कांग्रेसको मेयरका उमेद्वार तिलक राईले अपूरा योजना पूरा गर्न कांग्रेसको जित अतिआवश्यक भएको बताए । धरानमा खानेपानी, बसपार्क, विमानस्थलको योजना अपुरो रहेकोले पूरा गर्न धरानबासीलाई कांगेसलाई मत दिन आग्रह गरे । उम्मेदवार राईले धरानबाट जयकुमार राई, कृष्ण कुमार राई, किरण राई, कुन्ता शर्मा, लिला श्रेष्ठ, मनमोहन अधिकारी सांसद बनेको तर ठुला योजना कुनै पनि धरानमा नल्याएको आरोप लगाए । हालसम्म कम्युनिस्ट नेताहरुले शिलान्यास गरेको एउटा पनि योजनाहरु सम्पन नभएको राईको भनाई थियो ।