धरान: २०४६ सालपछिको करिब २९ वर्षको अवधिमा २३ वर्षसम्म नेपाली काँग्रेसले सरकार चलाए पनि धरानको विकास भने कम्युनिष्टले नै गरेको नेकपाका युवा नेता भीम राई ज्वालाले बताएका छन् ।

केन्द्रमा कम्युनिष्टहरूले करिब ३ वर्षमात्र सरकार चलाएको इतिहास रहेको भन्दै नेता राईले धरानलाई भने कम्युनिष्टहरूले नै देशको नमुना नगरपालिका बनाएको बताए । आसन्न उपनिर्वाचनमा नेकपाको प्रचारप्रसार तथा प्रकाशन संयोजकसमेत रहेका राईले बिहिबार बास्केटवल खेलाडीहरुसँग अन्र्तक्रिया गर्दै धरानका जनताले केन्द्रमा कांग्रेस सरकार भएपनि धरानमा कम्युनिष्टले गरेको यही काम नभुलेको धारणा राखे ।

'यो २९ वर्षको अवधिमा हेर्ने हो भने भष्ट्रचारको लगायत विभिन्न अपराधमा मुछिएका जुनसुकै अहोदाको व्यक्ति पनि कानुन भन्दा माथी हुन्न भन्ने उदाहरण नेकपाको सरकार भएकै बेला मात्र सतहमा आएको छ,'उनले भने,‘पछिल्लो उदाहरण म दिन चाहन्छु नेकपाको सरकारमा नै नेकपाबाट बाहालवाला सभामुख महरालाई कारवाही भएको छ । यता आलमको अपराध काँग्रेसको सरकार भएको बेला सामसुम परीएको थियो र अहिले सतहमा आउँदा काँग्रेसको नेता नै कारवाही हुनु हुँदैन भनी लागी परेका छन ।‘

ेदेशमा जनप्रतिनिधि नहुदा संयन्त्रको नाममा नेपाली काँग्रेसको हातमा डाँडु पुन्यु भएको तर त्यसबेला धरानमा खेलकुदको विकास हुन नसकेको उनले आरोप लगाए । ०७४ सालको स्थानिय तह निर्वाचन पश्चात भने नेकपाको नेतृत्वमा धरान खेलकुद ग्राम निर्माण गर्ने, विषयगत रंङ्गशाला निर्माण गर्ने, खेलकुदको राजधानी बनाउने, हरेक खेलको विकासका लागी वडा वडामा प्रतियोगिता हुने, सकृय खेल जीवनको अवकाश पश्चात खेलाडीको वृतिविकासको लागी रोजगारी सृजना गर्ने लगायतको योजना अघि बढिसकेको उनले खुलाए ।

नेकपाका उम्मेदवार प्रकाश राईको ४० वर्षे लामो राजनैतिक पृष्ठभुमि भए पनि हालसम्म कुनै पनि राजनैतिक लाभ नलिएको र विकास प्रेमी उम्मेदवार भएको बताए । यसअघिको स्थानीय निर्वाचनबाट निर्वाचित स्वर्गीय मेयर तारा सुब्बाको भिजनमा सल्लाह दिने व्यक्ति नै यस पटकको उपनिर्वाचनमा उम्मेदवार भएकाले बाँकी रहेको धरानको विकासको योजनाले मुर्त रूप पाउने उनको भनाई थियो । बास्केटवल खेलाडीहरुले पनि धरानमा पछिल्लो समय खेलकुदको क्षेत्रमा धेरै विकास र प्रगति भएको धारणा राख्दै राम्रो काम गर्ने पार्टी र नेतालाई सधै साथ, सहयोग हुने बताएका थिए ।