धरान: बुढासुब्बा प्रमोशन कप चौथो संस्करणको फाइनलमा धरान फुटबल क्लब र धरान उपमहानगरपालिका भिड्ने भएका छन् ।

बिहीबार धरान–१७ स्थित एन्फा एकेडेमीको खेल मैदानमा भएको खेलमा धरान फुटबल क्लबले उद्योग वाणिज्य संघ सुनसरीलाई ५–३ गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । यस अघि नै धरान उमपहानगरपालिका बराह ज्वेलरी धरानलाई पराजित गर्दै फाइनलमा प्रवेश गरिसकेको थियो । बिहीबार भएको खेलमा धरान फुटबल क्लबका तर्फबाट जनक सुनुवार एक्लैले ४ गोल गरे भने लक्ष्मण राईले थप एक गोल गरेका थिए । उद्योग वाणिज्य संघको तर्फबाट सन्तोष लिम्बूले २ गोल गरे भने अमर राइले एक गोल गरेका थिए । खेलको म्यान अफ द म्याच उद्योग वाणिज्य संघका सन्तोष लिम्बू घोषित हुँदै मेडल र नगद ५ सय पुरस्कार जिते ।

प्रबद्र्धधन कप विजेता टिमले ३० हजार नगद र उपविजेता टिमले १५ हजार नगद पुरस्कार जित्ने आयोजक धरान फुटबल क्लबका अध्यक्ष किशोर राईले बताए । उनका अनुसार प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीलाई नगद रु ५ हजार र विधागत उत्कृट खेलाडीलाई जनही २ हजारका दरले पुरस्कृत गरिनेछ । प्रतियोगितामा बेष्ट स्ट्राइकर, बेष्ट डिफेन्डर, बेष्ट किपर, बेष्ट मिडफिल्डलाई पुरस्कृत गरिनेछ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले यस वर्षदेखि मोफशलमा आयोजना हुने प्रतियोगिताहरुकोलागि नियमावली बनाएर प्रतियोगिता अयोजना गर्ने मिति तोकिदिएपछि बुढासुब्बा गोल्डकप मंसिर १९ गतेदेखि हुन लागेको छ । एन्फाले क्यालेण्डर सार्वजनिक गरेसँगै गोल्डकपको आयोजनाको तयारीमा धरान फुटबल क्लब लागिसकेको क्लबका महासचिव प्रताप तामाङले बताएका छन् ।