मुम्बई : बलिउड अभिनेत्री परिणीति चोपडाले अजय देवगनको फिल्ममा काम गर्न इन्कार गरेकी छिन् ।

समय मिलाउन नसकेका कारण उनले ‘भुजः द प्राइड अफ इन्डिया’ मा काम नगर्ने बताएकी हुन् । परिणीति कुनै पनि हालतमा अजयको फिल्मको हिस्सा बन्न चाहन्थिन् । तर, समय मिलाउन नसकेका कारण उनले फिल्म छोड्नुपरेको हो । अन्य फिल्मलाई समय दिइसकेका कारण उनले यो फिल्ममा काम गर्न पाइनन् । परिणीति चोपडाले आफ्नो समय ब्याडमिन्टन खेलाडी साइना नेहवालको बायोपिक फिल्म र द गर्ल अन द ट्रेनमा दिएकी छिन् ।

यी दुई फिल्मका कारण उनी चर्चामा छिन् । केही दिनपहिले उनी लण्डनबाट फिल्मको छायांकन सकेर मुम्बई फर्किएकी थिइन् । यतिबेला उनी साइना नेहवालको भूमिकाका लागि मेहनत गरिरहेकी छिन् । ‘भुजः द प्राइड अफ इन्डिया’ मा अजय देवगनका अलावा सञ्जय दत्त, सोनाक्षी सिन्हा लगायतले समेत अभिनय गर्नेछन् । यो फिल्म सन् १९७१ मा भएको भारत–पाक युद्धमा आधारित छ ।